उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक


 


दार्चुला फागुन ३
तीन महिनाअघि मालिकार्जुन गाउँपालिकामा भएको मिनिबस दुर्घटनामा गम्भीर घाइते भएका धीरेन्द्र धामी अझै पनि अस्पताल बेडमै रहेका छन् । तीन महिना बित्दासमेत उनी अझै अस्पतालको बेडबाट उठ्न सकेका छैनन् ।

मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा ७ मंसिरमा भएको मिनिबस दुर्घटनामा दुई जनाको ज्यान गएको थियो भने आधा दर्जन घाइते भएका थिए । घाइतेहरूको उपचार जिल्लामा सम्भव नभएपछि प्रदेश सरकारले हेलिकोप्टरमार्फत् गम्भीर घाइतेलाई नेपालगञ्ज मेडिकल कलेज पु¥याएको थियो । अन्य घाइतेहरू अस्पतालबाट डिस्चार्ज भएर बाहिर आएका छन् ।

तर, सोही मिनिबस दुर्घटनामा परेका मालिकार्जुन गाउँपालिका–८ शंकरपुर पस्तीका धीरेन्द्र्र धामी भने अझै काठमाडाैंका एक हस्पिटलको बेडबाट उठ्न सकेका छैनन् । नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचार हुन नसकेपछि धीरेन्द्र काठमाडाैंको ग्रान्डी हस्पिटलमा उपचाररत छन् । दुर्घटना भएको तीन महिना बित्नै लाग्दासमेत उनी भने अस्पतालको बेडमै घाउको पीडासँगै दिन कटाइरहेका छन् । धीरेन्द्र धामीका दाई ईन्द्र धामीका अनुसार अहिलेसम्म झन्डै ११ लाख उपचार खर्च पुगिसकेको र सो तिर्न नसकेको बताउँछन् ।

धीरेन्द्र अस्पतालको बेडबाट उठ्न नसक्दा उनको शरीरको तल्लो भाग कुहिन थालेको छ । अस्पतालको बेडबाट उठ्न सक्ने अवस्था नहुँदा बाफले उनको पछाडिको भाग कुहिन थालेको हो । दुर्घटनामा उनको शरीरको तल्लो भाग चल्न नसक्ने भएको थियो । त्यसमाथि अहिले ११ लाख अस्पतालको ऋणले झन् थला परेका छन् । उनको उचारमा दैनिक ३७ सयको औषधि खर्च हुने गरेको उनका दाई इन्द्रसिंह धामीले बताए ।

उनीसँगै ग्रान्डी हस्पिटलमा उपचाररत लेकम गाउँपालिकाका दौलतसिंह कँुवर र लक्ष्मी कुँवर भने यसअघि नै डिस्चार्ज भएका छन् । तर, धीरेन्द्रको उपचार सम्भव नहुने भएपछि हालसम्म उपचारमा भएको खर्च तिर्न नसक्दा उनी अस्पतालमा बन्धक जस्तै बनेका छन् । धीरेन्द्रको अस्पतालमा उपचार सम्भव नहुने र डिस्चार्ज गराउन पनि रकम अभाव भएकाले अन्योल भएको उनका दाइले बताएका छन् ।

‘अस्पतालले उपचार सम्भव नहुने बताएको छ, डिस्चार्ज गराउन अस्पातालको खर्च तिर्न नसकेर बन्धक भएको छौँ’, उनले भने । खर्च तिर्न नसकेपछि अस्पतालले पनि उपचार गर्न छोडेको छ । ११ लाखसम्मको औषधि खर्च तिर्न नसकेका धामीको थप उपचार र ड्रेसिङसमेत नगरिदिएको घाइतेका दाई इन्द्र धामीले गुनासो गरेका छन् । ‘अस्पतालले पनि उपचार गर्न छाडिहाल्यो, शरिरको तल्लो भाग कुहिन थाल्यो’, उनले भने ।

स्थानीय तहको सहयोग अझै पुगेन

गत ७ मंसिरमा मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा भएको मिनिबस दुर्घटनापश्चात् जिल्लाका विभिन्न पाँच स्थानीय तहले आर्थिक सहयोगको घोषणा गरेका थिए । तर, दुर्घटना भएको तीन महिना बित्नै लाग्दासमेत सम्बन्धित पक्ष अर्थात् पीडितहरूसम्म उक्त सहयोग भने पुग्न नसकेको छैन ।

उक्त मिनिबस दुर्घटनामा परी घाइतेहरूलाई जिल्लाका विभिन्न पाँच स्थानीय तहले एक÷एक लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । तर, घोषणा गरेको महिनौ बितिसक्दासमेत सम्बतिन्ध पक्षले उक्त रकम पाउन सकेका छैनन् । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहूँ गाउँपालिका, व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिकाले घाइतेहरूलाई आर्थिक सहयोग स्वरुप एक÷एक लाख दिने घोषणा गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र धामीले बताए ।

हालसम्म मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले भने एक-एक लाख रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गरिसकेको अध्यक्ष धामीको भनाइ छ । घाइते धीरेन्द्रको जमानतसमेत आफू रहेको अध्यक्ष धामीले बताए । घाइतेको उपचारका लागि ग्रान्डी अस्पतालसँग निरन्तर सम्पर्क भइरहेको बताए । महाकाली नगरपालिका, दुहूँ गाउँपालिका र व्याँस गाउँपालिकाबाट उक्त रकम आउन बाँकी रहेकाले आर्थिक सहयोगको रकम पीडितलाई हस्तान्तरण गर्न नसकिएको हो ।

यस्तै विवेकशील साझा पार्टीका जिल्ला संयोजक चक्र बलमे १३ माघमा ग्रान्डी अस्पतालमै गई घाइतेका अवस्थाबारे जानकारी लिएका छन् । जिल्ला संयोजक चक्र बमका अनुसार घाइतेको पछाडि कुहिन थालेकोे छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्