तयार भयो नेपालको आफ्नै पहिलो भू–उपग्रह, वैशाख ४ गते प्रक्षेपण गरिँदै


 


काठमाडौँ, फागुन ३

नेपालको पहिलो भू–उपग्रह तयार भएको छ । नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए ।

शुक्रबार जापानस्थित क्यूसू इन्सिटिच्यूट आफ टेक्नोलोजी क्यूटेक विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू–उपग्रह निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको हो। जापानमा रहेका उपकुलपति श्रेष्ठले भने,‘स्याटालाइट निर्माण कार्य सम्पन्न भएको छ। यो हाम्रो लागि ऐतिहासिक दिन हो। ’


यस्तै, शुक्रबार नै क्यूटेकका प्रेसिडेन्ड यूजी ओईएले नास्टका उपकुलपति श्रेष्ठलाई भू–उपग्रहको प्रतिमा हस्तान्तरण गर्दै नेपाललाई बधाई दिए।‘बर्डस’कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू–उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो। उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए।

२०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्यूटेकसँग समझदारी भएपछि उपग्रह निर्माण प्रारम्भ भएको जापानमै रहेका नास्टका वैज्ञानिक हरिराम श्रेष्ठले बताए। यसका लागि एक करोड ५० लाख जापानी यान खर्च भएको उनले बताए।

यसैबीच, आगामी अप्रिल १७ तारिख अर्थात् वैशाख ४ गते उपग्रह अन्तरीक्षमा प्रक्षेपण गरिने तालिका सर्वाजनिक गरिएको छ। नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह पनि त्यसैदिन प्रक्षेपण गर्ने तालिका रहेको नास्टका प्रविधि विभागका प्रमुख डा।रविन्द्र ढकालले जानकारी दिए। गत अगस्टमा उपग्रहको इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको थियो। – कान्तिपुर अनलाईनबाट

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्