देशको काँचुली फेर्न खोज्दा विरोध भयो – प्रधानमन्त्री


 


काठमाडौं ७ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्न खोज्दा विरोध भएको बताएका छन् । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति प्रतिबिम्बित भएको बताएका हुन् ।oli

प्रधानमन्त्रीले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको बताए ।

लिखित मन्तव्य वाचन गर्दैै प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने उल्लेख गरे ।

‘यस्ता गतिविधि गर्नेहरु विरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्छ’, प्रधानमन्त्रीले भने ।

मौलिक विधि अपनाएर नेपालले द्वन्द्व व्यवस्थापन लगभग सम्पन्न गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले द्वन्द्व व्यवस्थापनको सन्दर्भमा आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ध्येयका साथ आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वयनमा केन्द्रित भएको बताए । आगामी चैतमा गर्न लागेको लगानी सम्मेलनमार्फत विकास अभियानमा स्वदेशी तथा विदेशी लगानीकर्तासँग सहकार्यको अपेक्षा गरिएको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्