डीभी परेका व्यक्तिले नै नक्कली सर्टिफिकेट पेश गरेपछि….

काठमाडौँ, फागुन ७
चितवनको भरतपुर महानगरपालिका–५, विकास चोकका २६ वर्षीय निखिल पराजुलीको अमेरिका जान डाइभर्सिटी भिसा डीभी परेपछि खुशीको सीमा थिएन । उनले नतिजा प्राप्त हुनसाथ कानुनी प्रक्रिया अघि बढाए ।
त्यसक्रममा एउटा समस्या आइपर्यो, अमेरिका जान कक्षा १२ को शैक्षिक प्रमाण पत्र चाहिन्थ्यो । जुन पराजुलीसँग थिएन । अमेरिका जाने लोभमा उनले नक्कली प्रमाण पत्र बनाए, र काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरे ।
दूतावासका अधिकारीहरुले चेकजाँच गर्ने क्रममा उनको सर्टिफिकेट शंकास्पद देखियो । त्यसपछि उनीहरुले प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिए ।
उजुरीपछि अनुसन्धान थालेको प्रहरीले मंगलबार महाराजगञ्जबाट पराजुलीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाल उनी महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेको महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । अनलाईन खबरबाट
प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार