बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने

काठमाडौं फागुन ११
बम विस्फोटको घटनापछि घाइतेहरुको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा ललितुरको मेडिसिटी अस्पताल पुगेका छन् । अस्पतालमा घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने बताए । उनले घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेटेका हुन् ।
मन्त्री थापाले यस्ता घटना नख्खुमा मात्र नभइ देशभर नै भएको बताउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘घटना दुःखद भयो । हामी कडाइपूर्वक छानबिन गर्छौं र दोषीलाई कानुनको कठघरामा ल्याउँछौं ।’ उनले सरकारले घाइतेको निःशुल्क उपचार गरिदिने र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने पनि बताए ।
गएराति ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि बम बिस्फोट हुँदा ४९ वर्षका सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल पुगेका थिए ।
प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार