राम प्रधानसहित सबैलाई चाँडै शहीद घोषणा गरिन्छ : प्रधानमन्त्री


 


झापा ,फागुन २१/
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झापा विद्रोहका शहीदको बलिदानीकै कारण समानतामूलक समाज निर्माण सम्भव भएको बताउनुभएको छ । झापा र इलामको सिमानामा अवस्थित सुखानी स्मृति पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शहीदको बलिदानीकै कारण पञ्चायती शासन उखेलेर समानतामूलक समाज निर्माण सम्भव भएको बताउँदै शहीदको सपना पूरा गर्न सरकार लागिपरेको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शहीद घोषणा गर्न छुटेका झापा बुद्धशान्तिका राम प्रधानसहित सबैलाई चाँडै शहीद घोषणा गर्ने बताउनुभयो । छुटेकाहरूलाई फागुन २१ गते नै शहीद घोषणा गर्ने तयारी भए पनि ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनका कारण केही ढिलो हुने जानकारी दिनुभयो । उहाँले सबै कम्युनिस्ट पार्टीहरूलाई एउटै मोर्चामा आउन आह्वान गर्दै कम्युनिस्ट पार्टीको खोल ओढेर अँध्यारा गल्लीमा चन्दा उठाएर जनतामा आतङ्क सिर्जना नगर्न आग्रहसमेत गर्नुभयो ।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पदको कुनै लोभ नभएको बताउनुभएको छ । दुईपटक प्रधानमन्त्री भइसकेको आफूलाई प्रधानमन्त्रीको लोभ नभएको स्पष्ट पार्दै देश, जनता, कम्युनिस्ट आन्दोलनको एकता र विकास चाहेको बताउनुभयो ।

झापा विद्रोह र आफूले गरेको गणतन्त्रको आन्दोलन दुवैले परिवर्तनको सन्देश बोकेका आन्दोलन एउटा निष्कर्षमा पुगेको बताउँदै अध्यक्ष दाहालले अब देश विकासमा लाग्नुपर्ने बताउनुभयो ।
कम्युनिस्ट सरकार गठनको यो अवधिमा अपेक्षाअनुरूप काम गर्नमा कम कमजोरी भए पनि समय चिप्लिनहालेको दाहालको भनाइ थियो ।
कार्यक्रममा शहीद परिवारका तर्फबाट कन्काई नगरपालिकाकी उपप्रमुख मञ्जु दाहाल प्रसाईंलगायतले बोलेका थिए ।

नेकपा झापाका नेता चिन्तन पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले स्वागत र विजय साङपाङले कार्यक्रम सञ्चालन गरेका थिए । कम्युनिष्ट आन्दोलनका क्रममा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको भन्दै तत्कालीन पञ्चायती शासकले नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई सुखानी जंगलमा लगेर हत्या गरेको थियो ।

०२८ सालमा उनीहरूलाई पञ्चायती सरकारले पक्राउ गरेर झापाको चन्द्रगढी कारागारमा राखेको थियो । त्यसपछि अर्को वर्ष २०२९ साल फागुन २१ गते आजकै दिन इलाम कारागार सार्ने बहानामा पाँचजनाको हत्या गरिएको थियो । सोही दिनको सम्झनामा नेकपा नेताहरूले सुखानी स्मृति दिवस मनाउँदै आएका छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्