नेपाललाई आफ्नै भू-उपग्रह सञ्चालन गर्न फ्रान्स सरकारले सहयाेग गर्ने


 


काठमाण्डाै – नेपालमा सुरक्षण मुद्रण स्थापना गर्नका लागि फ्रान्स सरकारले सहुलियतपूर्ण आर्थिक सहयोगसहित प्राविधिक सहयोग पनि गर्ने भएको छ ।

मुद्रण स्थापना र आफ्नै भू-उपग्रह सञ्चालन गर्नका लागि प्राविधिक लगायतको सहयोग उपलब्ध गराउनेबारे मन्त्रीस्तरीय आशयपत्रमा हस्ताक्षर भएको छ।

फ्रान्सको औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किनुभएका सञ्चार तथा सूचनामन्त्री गाेकुल बाँस्कोटाले नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको इनग्रुपबीच सुरक्षण मुद्रण स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

त्यसैगरी भू उपग्रह सञ्चालनबारे नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्स सरकारको ‘थेल्स एलेनिया स्पेस’ बीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सुरक्षण मुद्रणको काम तीन वर्षभित्र र भू उपग्रहसम्बन्धी काम ३० महिनाभित्र सम्पन्न गर्ने समयसीमा तोकिएको छ । दुवै समझदारीपत्रमा कम्तिमा तीन महिनाभित्र परियोजना सम्झौता करार गरी काम सुरु गर्ने उल्लेख छ ।

स्पेनको बार्सिलोनामा मोबाइल कंङ्ग्रेस अन्तर्गत भएको ‘माेबाइल सञ्चार कार्यक्रमकाे लागि विश्वव्यापी प्रणालीकाे मन्त्रीस्तरीय कार्यक्रम’मा सहभागी हुनुका साथै मित्रराष्ट्र फ्रान्सको औपचारिक भ्रमण गरी मन्त्री बाँस्कोटा शनिबार स्वदेश फर्कनुभएको हो ।

फ्रान्सका विदेश राज्यमन्त्री जिन बापलिस्ट लेमाेनीकाे औपचारिक निमन्त्रणामा मन्त्री बाँस्काेटा त्यहाँ जानुभएको थियाे।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्