सीके राउत प्रकरणः भीम रावललाई महेश बस्नेतको झटारो


 


२६ फागुन – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद महेश बस्नेतले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिपछि सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको बताएका छन् ।

आफ्नै पार्टीका नेता भीम रावलतर्फ इंगित गर्दै सांसद बस्नेतले उक्त सम्झौतालाई सरकार तत्कालिन माओवादीबीच भएको शान्ति सम्झौतापछिको महत्वपूर्ण सम्झौताको संज्ञा दिँदै उनले डलरको खेती गर्ने र सेलिब्रेटी राष्ट्रवादीले मात्र विरोध गरेको आरोप लगाए ।

नेता बस्नेतले मुलुकमा पृथकतावादी आन्दोलन अन्त्य हुँदा मानवअधिकारवादी र डलरवादीको खेती रोकिएपछि एकथरीले विरोध गरेको बताए ।

‘अर्कोथरी आफूलाई सेलिब्रेटी नेताको रुपमा देखाउने, उग्रवादी र भावुक राष्ट्रवादको कुरा गर्दै नेपालको बजारको बिक्ने कुरा गर्न चाहन्छन् उनीहरुलाई ज्व्वरो आएको छ । उहाँहरुलाई सबैलाई सिटामोल खुवाएपछि दुई चार दिनमा ज्वरो कन्ट्रोल हुन्छ जस्तो लाग्छ’ बस्नेतले भने ।

सम्झौतामा सिके राउतले शान्तिपूर्ण र लोकतान्त्रिक बाटो अपनाउने उल्लेख गरिएको र जनमत संग्रहको उल्लेख नै नभएको उनले बताए । राउतसँगको २ नम्बर बुँदामा लेखिएको जनअभिमत भनेको आवधिक निर्वाचन भएको उनले बताए ।

यो सम्झौताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिको शिखर व्यक्ति र राजनेताको रुपमा चिनाएको उनले दावी गरे ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्