चौधरी ग्रुपद्वारा ९ अर्ब ६७ करोड राजस्व दाखिला


 


काठमाडौं, गत आर्थिक वर्षमा चौधरी ग्रुपसम्वद्ध कम्पनीले नौ अर्ब ६७ करोड रूपैयाँ राजस्व तिरेका छन् । चौधरी ग्रपका अनुसार आर्थिक वर्ष ०७३ र ७४ को तुलनामा गत आवमा २२. ७२ प्रतिशत बढी राजस्व दाखिला गरिएको हो ।
उक्त वर्ष ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजस्व तिरेको थियो । आव ०७२÷७३ मा ग्रुपले पाँच अर्ब ५९ करोड राजस्वमा बुझाएको थियो ।
अध्यक्ष विनोद चौधरी डलर अर्बपतिको सूचीमा परेसँगै नेपालमा तिरेको कर सार्वजनिक गर्दै आएको छ । ‘ग्रुपको नेपालमा बढ्दो लगानी र फैलिँदै गएको व्यवसायबाट रोजगारी सिर्जना र राजस्वमा योगदान बढ्दै गएको छ,’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन्, ‘ग्रुप उच्च व्यावसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्छ ।’
ग्रुपका अनुसार चालू आवमा नेपालमा थप २० अर्ब लगानी हुँदैछ। केही परियोजना सम्पन्न भइसकेका छन् भने केही कार्यान्वयन चरणमा छन् । पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटलसहित मल्टिप्रपोज मल ‘ल्यान्डमार्क’, सुनसरीमा सिजी इन्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनालगायत छन् । सिजी इन्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ ।
ग्रुप अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजीलाइफसेल’ कार्यान्वयनको तयारीमा रहेको छ । यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुनेछ । ग्रुपमा १० हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्