दुई महीनामै दुई लाख पर्यटक भित्रिए


 


काठमाडौँ, फागुन २७

सन् २०१९ को दुई महीनामै दुई लाख १६ हजार २१४ बाह्य पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा सा सङ्ख्यामा बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । सो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५०७ बाह्य पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरीमा ९१ हजार ७९३ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका छन् । फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने बाह्य पर्यटकको सङ्ख्या ९२।५ प्रतिशतले बढेको छ । सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ । चिनियाँ पर्यटक ५।३ प्रतिशतले मात्रै बढेको छ ।

युरोपियन मुलुक, बेलायत, जर्मनी र फ्रान्सबाट नेपाल आउनको सङ्ख्या क्रमशः ८।७, २७।९ र ७।६ प्रतिशतले बढेको छ । सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्या १७ हजार ७८९ पुगेको छ । सो अवधिमा अमेरिकाबाट सात हजार १३३ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्ड तथा निजी क्षेत्रले गरेको प्रवद्र्धनात्मक गतिविधिका कारण बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्षको दुई महीनामा ४० प्रतिशतले बाह्य पर्यटक आगमन बढेकाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन थप प्रवद्र्धनात्मक कार्यक्रम गरिने उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्