माइभ्याली गोल्ड कप नेपाल पुलिस क्लब सेमीफाइनलमा


 


नरेन इलामेली इलाम –नेपाल पुलिस क्लब इलाममा जारी पाँचौ संस्करणको टुबोर्ग अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफलाइनलमा प्रवेश गरेको छ । मंगलबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न क्वाटरफाइनल खेलमा पुलिसले युनाइटेड फुटबल क्लब दार्जिलिङलाई २– १ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पुलिसले खेलको छैटौँ मिनेट मै अग्रता लिएको थियो । खेलको छैटौँ मिनेटमा पुलिसका सौजन्य याख्खा राईले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए भने दोश्रो हाफमा भरत शाहले गोल गर्दै टीमलाई दोब्बर अग्रतामा पु¥याउँदा युनाइटेड क्लब दार्जिलिङले भने सान्तवना गोल मात्रै फर्काउन भ्याएको थियो । दार्जिलिङका लागि करन राईले गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच विजेता टीमका सौजन्य याख्खा राई घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बुधबार थ्रीस्टार क्लब ललितपुर र हिमालयन शेर्पा क्लब काठमाण्डौ विच प्रतिस्पर्धा हुनेछ । सोमबार हिमालयन शेर्पा क्लबले नेप्लीज फुटबल एकाडेमी हङकङलाई पराजित गरेको थियो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। पूर्वी पहाडको सबै भन्दा ठूलो धनराशिको सो प्रतियोगितामा नेपालको विभागीय टीमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब सहित थ्रीस्टार क्लब, मेची नेत्रालय झापा, हिमालयन शेर्पा कल्ब काठमाडौं, माइभ्याली फुटबल क्लब भारतको युनाइटेड कल्ब दार्जिलिङ, नेप्लिज फुटबल एकेडेमी हङकङ र दाउफिन्स कल्ब क्यामरुन गरी १० टीमको सहभागीता रहेको‌ छ। माइभ्याली फुटबल क्लब इलामको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल आगामी चैत्र ५ गते हुनेछ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्