मलेसियामा नेपाली सुरक्षा गार्डको बहादुरी : तस्विर र भिडियाे एकाएक भाइरल


 


काठमाण्डौँ ।  वीर गोर्खालीको नाम संसारभर चिनिएका नेपाली फेरि एकपटक मलेसियामा आफ्नो बहादुरी देखाएर नेपालीको शीर उच्च बनाएका छन् । नेपाली सुरक्षा गार्डको बहादुरी इन्टरनेटमा विश्वभर फैलिएपछि चर्चा भइरहेको हो ।

मलेसियाको सुवाङजयास्थित एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका व्यक्तिलाई नियन्त्रणमा लिएको भिडियो इन्टरनेटमा भाइरल बन्दै नेपाली सुरक्षागार्डको प्रशंसा मलेसिया हुँदै विश्वभर फैलिएको हो ।

ती मार्सल आर्टका युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्दा त्यहाँ कार्यरत नेपाली सुरक्षागार्डले सोधपुछ गरेका थिए । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन् । सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डले सोधपुछ गर्दा उनले नेपाली सुरक्षागार्डमाथि मुक्का प्रहार गर्छन् ।

तत्कालै उनले प्रतिबाद गर्छन । सँगै ड्युटीमा रहेका अन्य नेपाली सुरक्षागार्ड पनि उनको सहयोगका लागि आइपुग्छन । ठूलो ज्यानका यी मार्सलआर्ट खेलाडी हेर्दाहेर्दै नेपाली सुरक्षागार्डको कब्जामा पुग्छन् । उनलाई नियन्त्रणमा लिएर सुरक्षागार्डले डोरीले हात बाँधिदिन्छन् । तर, उल्टै आक्रमणमा उत्रिएपछि जाइलागेका नेपाल सुरक्षागार्डले ति व्यक्तिलाई नियन्त्रणमा लिएर हात खुट्टा बाँधेर राखेको भिडियोमा देखिन्छ ।

चारवटा भिडियो र दुईवटा तस्वीरसहित पोष्ट गरिएको यो भिडियो २४ घण्टा नपुग्दै मलेसियाभर भाइरल भएको छ । सामाजिक सञ्जालमा मलेसियाली नागरिकहरुले नेपाली सुरक्षागार्डको ड्युटीप्रति खुसी ब्यक्त गरेका छन् । नेपाली सुरक्षागार्डले राम्रो काम गरेको र यही कामका कारण मलेसियाका वस्तीहरु सुरक्षित रहेको भन्दै उनीहरुले नेपाली सुरक्षागार्डलाई बधाइ पनि दिए

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्