साफ महिला फुटबलको सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्यो


 


विराटनगर, चैत १

विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । समूह ‘बी’ को खेलमा आज माल्दिभ्सलाई श्रीलंकाले २–० ले पराजित गरेपछि सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको हो ।

आजको खेलपछि समूह ‘बी’ बाट श्रीलंका र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् । यसअघि नै समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आज श्रीलंकासँग पराजित भएपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि माल्दिभ्स भारतसँग ६–० ले पराजित भएको थियो ।

आज मध्यान्तरअघि एक गोल गरेको श्रीलंकाले मध्यान्तरपछि अर्को गोल ग¥यो । ४० औं मिनेटमा चालिनी कुमारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यस्तै, खेलको ५०औं मिनेटमा गोल गर्दै उनले श्रीलंकालाई २–० गोलको जित दिलाइन् । खेलअवधिभर बल नियन्त्रणमा राखेपको श्रीलंकाले गोल गर्ने कतिपय अवसर खेर फालेको थियो । माल्दिभ्सले भने गोल गर्ने केही अवसर सिर्जना गरेको थियो । तर माल्दिभ्सका कुनै पनि खेलाडी गोल गर्न सफल हुन सेकनन् । आयोजक नेपालले समूह ए को अन्तिम खेलमा भोलि शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्