एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा


 


काठमाडौं, चैत १

यही चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र प्रदेशलगायतका सबै केन्द्रहरुमा पुर्याइसकिएको जानाएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसईईको सबै तयारी पूरा भएको बताउनुभयो । उहाँले यस वर्ष नियमिततर्फ ५ लाख परीक्षार्थी एसईई परीक्षामा सामेल हुने जानकारी दिनुभयो । एक्जाम्टेडतर्फ भने ५० हजार परीक्षार्थी छन् ।

यस वर्ष केन्द्र र प्रदेश गरी कूल १ हजार ९ सय ६१ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । परीक्षाका लागि खटाइने सुरक्षाकर्मी तथा निरीक्षक र गार्डहरु स्थानीय तहले नै खटाउने निर्णय भएको बोर्डले जनाएको छ । प्रश्नपत्र पनि यस वर्षदेखि प्रदेश अनुसार फरक–फरक हुनेछ । एसईई परीक्षामा प्रदेशगत रुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन हुने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले यस वर्षको एसईईको परीक्षामा अनिवार्य ६ विषयको परीक्षा समानान्तर सेटबाट सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । एसईई चैत १० गते सुरु भई २१ गते बिहीबारसम्म जारी रहने छ भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ ।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्