“सरकारले वार्ता गरेर समाधान खोज्नुपर्छ”


 


विराटनगर, चैत १

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ता गरेर समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय समिति विराटनगरको १२औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले विगतमा मुलुकले हत्या र हिंसाबाट धेरै जनधनको क्षति व्यहोरेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय विखण्डनको धार बोकेको सिके राउतसँग गरेको सम्झौताअनुसार राष्ट्र विखण्डनको नारा त्याग गरेको कुरा सार्वजनिक रुपमा आउनुपर्ने भन्दै न्यायालय र सरकारबीचको तालमेल मिल्नुपर्ने बताउनुभयो ।

मुलुकमा अराजकता बढ्न नदिन र विदेशी लगानी भित्र्याउन सरकारले भरपूर प्रयास गर्नुपर्ने उल्लेख गर्दै नेता कोइरालाले मुलुकमा बेथिति बढ्न नदिन सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो । शनिबारसम्म चल्ने अधिवेशनमा २३५ प्रतिनिधिको सहभागिता छ । रासस

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्