बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने


 


काठमाडौँ, चैत १

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो ।

निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्धले कोलकाता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित तीन उडान भर्नेछ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुनेछ । भारतमा लोकसभा निर्वाचन यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ ।

भारतीय यात्रुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेज पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार–प्रसार गरिरहेकोे छ ।

नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज, गङ्गासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको कम्पनीले जनाएको छ । बुद्ध एयरसँग अहिले छ वटा एटिआर ७२–५००, तीन वटा एटिआर ४२–३२० र दुई वटाबीच क्राफ्ट जहाज सञ्चालनमा छन् । थप एटीआर–७२ जहाज अर्को महीनादेखि सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ । रासस

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्