पुरानो बुलेट : पूर्वेली शैली र परिवेशसँग साक्षत्कार


 


फिल्म फगत मनोरन्जन होइन, एक सांस्कृतिक उत्पादन हो । फिल्मले कुनैपनि क्षेत्रको रहनसहन, शैली, चालचलन, कला, संस्कृतिलाई आफुसँगै बोकेको हुन्छ । फिल्मको संवेदनशिलता पनि यसमै हुन्छ । फिल्मले कथा मात्र भन्ने होइन । फिल्मले मनोरञ्जन मात्र पेश गर्ने होइन । यसले कुनै खास भूगोल र क्षेत्रको कला–संस्कृति पनि भन्ने हो ।

सुक्रवार प्रदर्शनमा आएको फिल्म ‘पुरानो बुलेट’ त्यसो त मनोरञ्जनको फुल डोज हो । फिल्मलाई मसलेदार र मनोरञ्जनात्मक बनाउनकै लागि निर्देशकले धेरै मेहनत गरेका छन् । फिल्ममा हासो छ , रोदन छ, गलफत्ती छ, नोकझोंक छ । वैशालु प्रेम छ । युवा संघर्ष छ ।

तर यतिमात्र पनि छैन । तपाईंलाई ‘पुरानो बुलेट’ले पूर्वी तराईका ति बस्तीहरुमा डोहो¥याउँछ, जहाँ मध्यमवर्गिय जीवनको छायाँ देखिन्छ । उनीहरुको सपना, उनीहरुको रहनसहन, उनीहरुको व्यथालाई फिल्ममा देखाइएको छ ।

यसले रैथाने कला, संस्कृतिलाई पनि राम्ररी पेश गरेको छ । जस्तो कि, धामीझांक्री, विवाह, मृत्यु संस्कार । फिल्मलाई भीषण राइले निर्देशन गरेका हुन् । लामो समय रंग पत्रकारिता गरेका राईले फिल्ममा पूर्वी तराईको भाषा, लवज, चालचलन, रीतिथिती टपक्कै टिपेका छन् । फिल्मका पात्रहरु यस्ता लाग्छन्, जो हाम्रै साथीभाई हुन् । हामीले दिनहुँ साक्षतकार गरिरहने कथा र परिवेश यसमा छ ।

कस्तो छ कथा ?

फिल्मको कथा लेटाङको बस्तीबाट सुरु हुन्छ । कथाका सूत्रधार हुन्, प्रताप राई । प्रताप राईको रुपमा अनुपविक्रम शाह देखापरेका छन् ।

प्रताप एक विन्दास र आफ्नो मर्जी अनुसार हिँड्ने युवा हुन् । उनलाई घर, परिवार, करियर केहीको परवाह छैन । उनको पुरानो बुलेट बाइक छ । त्यही बाइकमा हिँड्छन् । जग्गा बिक्री, ठेक्का पट्टा, पैसा उठाउने कामबाट प्राप्त हुने सानोतिनो रकमले मस्ती गर्छन् । यसरी मस्ती नै मस्तीमा उनको दैनिकी बित्दो छ ।

उनलाई घर नजिकैकी एक युवती जमुना वर्षा सिवाकोटीले मन पराउँछ । जमुना शुसिल र सचेत युवती हुन् । उनी प्रतापको परिवारसँग निकट पनि छिन् ।

यस्तैमा इन्ट्री हुन्छ, मोनिका अर्थात माला लिम्बुको । अब प्रतापको जीवनमा नयाँ मोड आउँछ । कथामा उतारचढाव सुरु हुन्छ । त्यसपछि कथा कसरी अगाडि बढ्छ ? यसका लागि भने फिल्म हेर्नैपर्छ ।

यो फिल्ममा युवाहरुको सपना र वाध्यतालाई उजागर गरिएको छ । अहिले नेपाली फिल्मको बजार ध्वस्त हुँदै गएको छ । फिल्मले दर्शक गुमाउदै गएका छन् । यस्तो अवस्थामा पुरानो बुलेटले एउटा चुनौती खेप्नुपर्नेछ, बजारको ।

तर फिल्म मनोरञ्जनात्मक छ । यसले फुल डोजको मनोरन्जन पस्किएको छ । फिल्ममा हासो, रोदन, आवेग सबै छ । सन्तोष राई र भिषण राइले लेखेको फिल्मले दर्शकलाई फिल्म अवधीभर भरपुर मनोरञ्जन दिन्छ ।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्