काँग्रेस सभापति देउवाले पत्रकारसँग रिसाउँदै भने, ‘बोल्दिन भनेपछि बोल्दिन‘


 


बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झेक्की स्वभावका कारण बेलाबेला विवादमा पर्छन् । कहिले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्छन् त कहिले मैले भनेको तपाईले सुन्नु भएन भनेर प्रश्नकर्तालाई हर्काछन् ।

बुधबार बुटवलमा भने बोल्दिन भन्दै प्रेस युनियन रुपन्देही सभापति र पार्टी सचिव रामकृष्ण खाँडलाई हप्काए । देउवा बुटवल आएको खबर पाएपछि पत्रकारहरु शुक्रबार चौराहास्थित मोडर्न क्याफेमा पुगे । सभापति देउवा देवदहतिरबाट आए, कार्यकर्ताबाट घेरिए । स्थानीय कार्यकर्ताले करिब १५ मिनेट फोटो खिचे ।

त्यसपछि प्रेस युनियन रुपन्देही सभापति रेखा भुसालसहित पत्रकारहरु देउवानजिक पुगे । भुसालले देशको समसामयिक राजनीतिक विषयमा थोरै बोलिदिन के आग्रह गरिन् । तर, देउवा म बोल्दिन भन्दै उनलाई फर्काइदिए ।

त्यो दृश्य देखेपछि कांग्रेस रुपन्देही सचिव रामकृष्ण खाँडले आफ्नो पार्टी निकटका मात्र नभई अन्य पत्रकारहरु पनि एकघण्टादेखि कुरेर बसेका छन् एक दुई मिनेट भएपनि बोलिदिनुपर्‍यो भनेर देउवालाई अनुरोध गरे । तर देउवा रिसाए । उनले खाँडलाई हप्काउँदै भने, ‘बोल्दिन भनेपछि बोल्दिन, मैले भनेको सुनेनौ ।’ सचिव खाँडले थप अनुरोध गर्ने हिम्मत गरेरनन् । साभार : अनलाईन खबरबाट

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्