नेकपाका पोलिटब्युरो सदस्य जीवन्त पक्राउ प्रतिबन्ध फिर्ता लिन मोर्चाको आग्रह


 


काठमाडौं चैत २
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की पक्राउ परेका छन् । पार्टीभित्र जीवन्त उपनामले चिनिने कार्कीलाई शुक्रबार साँझ ललितपुरको पाटनढोका आसपासबाट साधा पोसाकका प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

नेकपा सुत्रका अनुसार जीवन्त पछिल्लो समय विभिन्न राजनीतिक दलका नेतृत्व तहमा रहेका नेताहरूसँग राजनीतिक छलफलमा सक्रिय रहँदै आएका थिए ।

ज्ञातव्य छ, विप्लव नेतृत्वको नेकपालाई सरकारले केही दिनअघि मात्र आधिकारिक तवरमा ‘प्रतिबन्धित’ गरेको छ भने सो पार्टीका गतिविधिमाथि गृहमन्त्रालयले विशेष निगरानी बढाएको बताइन्छ ।

यसैबीच नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फिर्ता गर्न नेपाली जनप्रगतिशील मोर्चा युरोपले सरकारसँग माग गरेको छ । मोर्चाको केन्द्रीय समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले राजनैतिक पार्टीलाई प्रतिबन्ध गरेर असली फाँसीवादी चरित्र चरितार्थ गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्