विगत तीस वर्ष दुई हजार वर्षयताकै उष्ण


 


काठमाडौं चैत २
विगत ३० वर्षमा पृथ्वीको वातावरणमा दुई हजार वर्षयताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले दर्शाएको छ ।

मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा पछिल्लो समय उच्च वृद्धि देखिएको अनुसन्धानले देखाएको हो ।

चीनको दक्षिणपश्चिम यूनान प्रान्तको उपोष्ण क्षेत्रमा अवस्थित सानो तालमा रहेको जमिनको सतहमा गरिएको हावाको मात्रात्मक रेकर्डको अध्ययनबाट वैज्ञानिकहरूले यो कुरा पत्ता लगाएका हुन् ।

‘चाइनिज एकेडेमी अफ साइन्सेस र कोलम्बिया यूनिभर्सिटी’ले यही मार्च महिनामा सार्वजनिक ‘अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स’ नामक अन्तर्राष्ट्रिय जोर्नल रिपोर्टमा उक्त कुरा दावी गरिएको छ ।

विगत दुई हजार बर्षमा पृथ्वीको जलवायु प्रणालीमा प्राकृतिक घटनाभन्दा मानव विकास र उत्पत्तिजन्य कार्यका कारण उत्सर्जन भएको हरितगृह ग्यासका कारण बढी प्रभावित बनेको जनाइएको छ । तर यो अनुसन्धानपूर्व जलवायुका बिषयमा रहेका तथ्याङ्कले विभिन्न महादेशको करिब एक हजार बर्षको रेकर्ड देखाएका थिए ।

पानी र हावाले जम्मा गरेका तियानकाई तालका सतहका नमूना (सेडिमेन्ट स्याम्पल), जुन समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेका छन्, ले दुई हजार बर्ष पहिलेको जलवायुबारेको तथ्याङ्क उजागर गरेको हो । उक्त नमूनाहरूलाई मानवीय गतिविधिले प्रभावित नगरेको र यसले हजारौँ बर्ष पहिलेको तापक्रमको उतार–चढावलाई मापन सम्भव भएको अनुसन्धान रिपोर्टमा दावी गरिएको छ ।

उच्च पहाडी वा हिमाली क्षेत्र जलवायु परिवर्तनका हिसावले संवेदनशील मानिने अनुसन्धान समूहका सदस्य झाओ चेङले बताए । बिसौँ शताब्दीको पछिल्लो पाँच दशकमा मानवविकास र उत्पत्तिसम्बन्धी गतिविधि तापक्रम वृद्धिको प्रमुख कारक बन्ने गरेको उनको भनाई रहेको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्