पूर्वराजा ज्ञानेन्द्रको तराईमा एकाएक सक्रियता बढ्यो


 


काठमाडौं । मध्यतराईको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको थप भ्रमण तालिका आमा रत्नको स्वास्थ्य अवस्थापछि मात्रै सार्वजनिक हुने भएको छ। जनकपुरमा रहनुभएका ज्ञानेन्द्रले ३ गतेसम्म पहिलो चरणको भ्रमण गर्नुहुने भएको छ।

उहाँले हिजो शुक्रबार दिउँसो जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो। आज शनिबार उदयपुर जाने र पर्सि सप्तरीको मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ। उहाँले आफूलाई स्वागत गर्न बसेका जनतासँग बाटोमै सामान्य कुराकानी गर्नुभएको थियो।
मध्यतराईको भ्रमणमा स्वागत गर्ने लहर बढेपछि प्रसन्न हुनुभएका ज्ञानेन्द्रले ३ गते झापा पुगेपछि केही राजनीतिक भेटघाट गर्नुहुने भएको छ। अस्ति बिहीबार मलंगवाको धार्मिक भ्रमणमा निस्कँदा उहाँलाई सयौँ स्थानीयले स्वागत गरेका थिए।

‘जनकपुरको सीताशरण होटलमा बस्दै आउनुभएका उहाँले होटलमा कसैसँग भेट गर्नुभएको छैन। भेटघाट कार्यक्रम झापा पुगेपछि मात्रै तय हुनेछ।’ –उहाँनिकट स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। ‘गएको फागुन २१ गतेदेखि नर्भिक अस्पताल भर्ना हुनुभएकी ९१ वर्षीया आमा रत्नको स्वास्थ्य अवस्था कस्तो हुन्छ, त्यसपछि मात्रै थप भ्रमण कार्यक्रम तय हुनेछ।’ –स्रोतले भन्यो।

चैत महिनाभरि झापामै बस्ने तयारी गर्नुभएका ज्ञानेन्द्र झापाबाटै भारतको सिक्किम, दार्जिलिङलगायत स्थानमा भ्रमण गर्ने कार्यक्रम तय भएको छ। हालसम्म कहिले भ्रमण गर्ने भन्ने विषयमा जानकारी नभएपछि उहाँ चैत अन्तिममा भारत जाने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्