‘आफ्नो कर्मको प्रारब्ध फल यही जुनीमै भोग्नुपर्नेछ, अर्को जुनीसम्म प्रतीक्षा गर्नैैपर्दैन’


 


कुसुम भट्टराई ओशोको ‘भगवद् गीताका मनोविज्ञान’ पढिरहेको थिएँ ।

‘पूर्वजन्मको सञ्चित कर्मको फल नै आज हामी भोगिरहेका छौँ, आज जे-जस्तो कर्म गर्छौं त्यसको फल अर्को जुनीमा भोग्नुपर्नेछ’ भन्ने दर्शन छ ।

यद्यपि, ओशो भन्नुहुन्छ, ‘यो जुनीमा गरेका कर्महरुको फल अर्को जुनीमै भोग्नुपर्छ भन्ने छैन, यही जुनीमा पनि हामी भोगीरहेका हुन्छौँ । हाम्रो वर्तमान यही जुनीकै भूतको परिणाम हो । हामी जे जस्तो छौँ, हामीले यही जुनीमै आफ्नै कर्मले आफैलाई निर्माण गरेका हौँ । हाम्रो दुःख सुखमा हाम्रो आफ्नै कर्म जिम्मेवार छ । हामी आफै आफ्नो शत्रु र मित्र दुवै हौँ।’

प्रचण्डको सुरक्षा थ्रेट बढ्न थालेछ । ‘महान बलीदानी क्रान्ति’का नायकलाई दुईजना डिएसपीको कमाण्डमा ५९ जना सुरक्षाकर्मी परिचालित गर्नुपर्ने भएछ । राम्रो कर्म गरेको भए यसरी ‘सुरक्षा थ्रेट’को आतंकीत र भयाक्रान्त जीवन बाँच्नु पर्दैनथ्यो होला । ओशोले भनेझैँ, प्रचण्डको आजको भयाक्रान्त जीवन उनको यही जुनीकै कर्मको प्रारब्ध हो ।

सत्यको पक्षमा लडेर के गर्ने ? एकजना युधिष्ठिरबाहेक बाँकी सबै पाण्डव नर्कमा जाकिए । युद्ध सत्यको पक्षमा थियो होला, योद्धाहरुले आफ्नो कर्मअनुसारको फल पाए । अर्जुनले सिखण्डीमार्फत भीष्मलाई छल गरेर मारेकै हुन् । भीमले कृष्णको इशारामा कम्मरभन्दा मुनि गदा प्रहार गरेर दुर्योधनलाई कपटपूर्वक मारेकै हुन् । ‘अश्वस्थामा हतोहत’ भन्दै झुक्याएर दोर्णलाई मारिएकै हो । यस्ता सारा कपटपूर्ण कर्मको फल पाण्डवहरुले पाए ।

प्रचण्डको आजको भयाक्रान्त जीवन उनको यही जुनीकै कर्मको प्रारब्ध हो ।
आखिर महाभारत युद्धका सारा कपटका सुत्रधार भनौँ या नायक भगवान श्रीकृष्णको समेत यदुवंश सखाप भयो र पुरै द्वारिका राज्य समुद्रमा विलीन भयो । कृष्णले सामान्य ब्याधाको बाण लागेर मर्नुपरेको कथा छ ।

प्रारब्धको यो खेल प्रचण्डका हकमा पनि लागू नहुने भन्ने कुरै छैन । उनले आफ्नो कर्मको फल अवश्य पाउने नै छन् ।

उदाहरणका लागि, भियतनामको क्रान्तिपछि पनि होचिमिन्ह टायरको चप्पल लगाएर जनताको माझमा निस्फिक्री हिँड्थे । उनलाई सुरक्षाको कुनै चिन्ता थिएन । कमरेड माओ फाटेकै कोटमा जनताको माझमा हिँड्थे, जतिबेला चिनमा उनको तस्बिर अंकीत नोटको प्रकाशन भइसकेको थियो । नेपालमा सादगीपूर्ण जीवन बिताउने किसुनजी, गणेशमानजीलाई सुरक्षाको खासै प्रबन्ध गर्नुपरेन, तर सौखीन गिरिजालाई सुरक्षा थ्रेट भयो । पुष्पलाल, मनमोहनलाई खासै सुरक्षा थ्रेट थिएन, तर प्रचण्डलाई थ्रेट भयो।

ओशोको भनाई मननयोग्य छ, ‘हामीले आफ्नो कर्मको प्रारब्ध फल यही जुनीमै भोग्नुपर्नेछ, अर्को जुनीसम्म प्रतीक्षा गर्नैैपर्दैन ।’

(सामाजिक सञ्जालबाट)

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्