विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान हुने


 


विराटनगर, चैत २

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताउनुभएको छ ।

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट(नाटा)को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि सङ्घीय सरकारका साथै निजी वायुसेवालाई अनुरोध गरिएकाले चाँडै सञ्चालन भई स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पर्यटकको बसाइ छदेखि सात दिनसम्म लम्बाउन र यस क्षेत्रका जनताको आर्थिकस्तर वृद्धि गर्न विराटनगर–बुर्जुताल (१५३ बिघा क्षेत्रफल)–इनरुवा–रामधुनी–चतराधाम–बराहक्षेत्र–धरान र इटहरीको तालतलैयासम्म सडक सर्किट निर्माण गर्न रु ४० लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।

मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले पर्यटन क्षेत्र संवेदनशील व्यवसाय भएकाले तेस्रो मुलुक मात्र नभइ छिमेकी देशका नागरिकलाई अतिथिका रुपमा सम्मानजनक आदरसत्कार गर्नुपर्नेमा जोड दिँदै पर्यटकीय क्षेत्रको स्तरोन्नति पूर्वाधार निर्माण, पदयात्रा मार्ग र सूचना केन्द्रका लागि प्रदेश सरकारले रु १५ करोड बजेट निकासा गरेको जानकारी दिनुभयो ।

नाटाका प्रदेश अध्यक्ष भूपालराज श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नाटाका प्रदेश महासचिव नवीन खरेल, प्रथम उपाध्यक्ष अच्युत गरागाईं, प्रदेश सचिव पुण्य भट्टराई, पर्यटन व्यवसायी रेवतबहादुर थापा, भविषकुमार श्रेष्ठ, पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेल र गण्डकी प्रदेश उपाध्यक्ष सञ्जयकान्त सिग्देलले विराटनगर, धरान, काँकडभिट्टाबाट पोखरा पर्यटकीय बस सञ्चालन तथा पूर्वकोे पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने बताउनुभयो । रासस

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्