विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान,मुठभेडपछि दुई पक्राउ


 


काठमाडौं । काभ्रेमा प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

रोची गाउँपालिकामा भएको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । बिपी राजमार्गको आसपासमा भएको मुठभेडपछि प्रहरीले विप्लव समुहका दुईजना कार्यकर्तालाई पक्राउ गरेको छ ।

विप्लव समुहको गतिबिधि त्यस क्षेत्रमा छ भन्ने आशंकामा अपराध अनुसन्धान महाशाखा टेकुबाट सोमेन्द्र सिंह राठौरको नेतृत्व टोली त्यसतर्फ गएको थियो ।

प्रहरीलाई देख्नेबित्तिकै विप्लव समुहका कार्यकर्ताले फायरिङ गरेकोले जवाफी फायरिङ गर्नुपरेको एसपी केदार ढकालले बताउनुभयो ।

यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्