मुख्यमन्त्री राईद्धारा फागु पर्वको शुभकामना


 


विराटनगर, चैत्र ६

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पूर्णिमा (होली) पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, असत्यमाथि सत्यको विजयको रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो, रङ्गको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने मैले विश्वास लिएको छु ।

हाम्रा चाडपर्वहरुले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउँदै एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संर्वद्धन गर्न अभिप्रेरित गरिरहेको सन्देशमा उल्लेख छ । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीहरुले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने गरेको मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ ।

यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने मैले ठानेको छु सन्देशमा उल्लेख गर्दे मुख्यमन्त्री राईले भन्नुभएको छ मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संर्वद्धन गर्दै समृद्धितर्फको यात्रामा अगाडि बढ्नु हामी सबैको दायित्व हो ।

यस पर्वले सबै नेपालीमा खुसीका रंगहरु छर्दै नयाँ उत्साह र उमंगका साथ सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै प्रदेशको विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने उत्प्रेरणा हामी सबैमा मिलोस् भन्न शुभकामना मुख्यमन्त्री राईले व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्