रङ दलेर आपसमा खुशियाली साटासाट गर्दै होलीको उमङ्ग


 


काठमाडौँ । रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ ।

आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका छन् । विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका छन् । आपसी खुशी साटासाट गरेर मनाउँदै एक अर्काका भाइचारा विस्तार हुने भएकाले होलीको आफ्नै विशेषता रहेको काठमाडौँ मैतीदेवीमा होली खेल्दै गरेका युवा हरिकृष्ण शर्माले बताउनुभयो ।

हीरण्यकश्प नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्र्रह्लादलाई अग्नि कुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको खुशियालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।

होलीको दिनमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन् ।

सो क्षेत्रमा होलीलाई शान्तिपूर्ण बनाउन प्रहरी परिचालन गरिएको छ । अन्य क्षेत्रमा पनि सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण रुपमा मनाउनुपर्ने होली पछिल्लो समयमा विकृति मिसिएको भन्दै चिन्ता प्रकट गरिएको छ ।

बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो ।

आज बिहान काठमाडौँका विभिन्न क्षेत्र घुम्दा मुख्य सडकभन्दा भित्री सडकमा विकृतिपूर्ण व्यवहार देखिएका छन् । बालबालिकाले भने लोलाको प्रयोग गरिरहेका छन् । भित्री सडकमा लोला हानेका प्लाष्टिक सडकमा यत्रतत्र देखिएका छन् । मुख्य सडक क्षेत्रमा भने युवाको झुण्ड होलीमा रमाइरहेका छन् । होली विशेष कार्यक्रम आयोजना गरिएको क्षेत्रमा भने सांस्कृति कार्यक्रमसहित होली मनाउने तयारी गरिएको छ । कतिय भने होली मनाउने तयारीमा देखिएका थिए ।

उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध

सरकारले होलीका अबसरमा उत्छृङ्खलता प्रदर्शन नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । खुशियाली साटासाट गरी मनाइने होली९फागू० पर्व मर्यादित रुपमा मनाउन सरकारले सबैमा आग्रह गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली मनाउन आग्रह गर्दै भन्नुभयो, “पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि भएमा कारवाही हुन्छ ।”

नेपाल प्रहरीले समेत होली विशेष सुरक्षा योजना ल्याएर विशेष सुरक्षा व्यवस्था मिलाएको छ । यसपालि तीन दिन अघिदेखि नै होलीमा अवाञ्छित घटना हुन नदिन विशेष सतर्कता अपनाइएको छ । प्रहरीले होली उच्छृङ्खल नहोस् भनेर समुदायसँग मिलेर माइकिङ गरी प्रचारप्रसारका कार्यक्रम गरेको थियो ।

ठाउँठाउँमा ‘चेक प्वाइन्ट’

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । यसपटक काठमाडौँमा मात्रै १०७ स्थानमा ‘चेक प्याइन्ट’ राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ । होलीको दिन बुधबार काठमाडौँमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सतहत्तरै जिल्लामा होली विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै प्रहरी प्रधान कार्यालयले मापसे चेक जाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको जनाएको छ ।

सवारी आवागमन न्यून

आज होलीका कारण काठमाडौँ उपत्यकामा सवारी आवागनम न्यून देखिएको छ । अन्य सार्वजनिक बिदाभन्दा आज काठमाडौँमा अत्यन्त न्यून सवारी सञ्चालनमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

छिटफुट सार्वजनिक सवारी चलेका देखिन्छन् भने सामान्य मात्रामा निजी सवारी सञ्चालनमा छन् । सबै होलीमा रमाइरहेकाले सवारी कम चलेको महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताउनुभयो । चेकजाँच कडाइसँगै हेलमेट नलगाई हिँड्ने, मापसे गर्ने जबर्जस्ती गर्ने, मोटरसाइकलमा तीन जना चढेर हिँड्नेलगायत गतिविधिमा ट्राफिक प्रहरीले कडाइ गरेको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्