सरकारी संयन्त्रबाटै कामदार लैजाने जापानसँग श्रम समझदारी सोमबार हुने


 


काठमाडौँ चैत ८ 

जापानमा नेपाली कामदार पठाउन आगामी सोमबार दुई देशबीच श्रम–समझदारी हुने टुंगो लागेको छ । समझदारीपत्रमा श्रम मन्त्रालयका सचिव र जापानी राजदूतले हस्ताक्षर गर्दै छन् ।

सरकारी संयन्त्रबाटै कामदार लैजाने गरी हुने समझदारीलाई मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ ।

जापानले चैत १८ देखि विदेशी कामदार आपूर्ति गर्ने निर्णय गरेको छ । यसअघि जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिटो) सँग सम्झौता गरी औद्योगिक प्रशिक्षार्थी पठाइँदै आएको थियो । समझदारीपछि पनि म्यानपावर कम्पनीमार्फत प्रशिक्षार्थी कामदार यथावत् पठाइनेछ ।

नेपाली कामदार श्रम भिसामा जापान जाने बाटो पहिलो पटक खुल्न लागेको हो । जापानले नेपालबाट दक्ष र अदक्ष दुवै खालको कामदार लैजाने श्रम मन्त्रालयले जनाएको छ । ‘नेपाली कामदारलाई आर्थिक शोषण र ठगीबाट मुक्त गर्न आपूर्ति प्रक्रियामा तेस्रो पक्षको संलग्नता नगर्ने सहमति भयो । अब सरकारी संयन्त्रबाट कामदारको भर्ना प्रक्रिया हुन्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘वैदेशिक रोजगार विभागभित्र जापान पठाउने छुट्टै शाखा स्थापना हुनेछ ।’

जापानले बर्सेनि कति नेपाली लैजाने भन्ने निर्धारण गरिसकेको छैन । जापानी रोजगारदाताले आवश्यक कामदारको मागपत्र नेपाली दूतावासमा प्रमाणीकरण गरी जापानले तोकेको निकायमा लगेर बुझाउनुपर्ने व्यवस्था भएको ती अधिकारीले बताए ।

‘समझदारीमा कामदारको लागत खर्च समेटिएको छैन । दुई देशबीचको प्राविधिक टोलीको बैठकले टुंगो लगाउनेछ,’ उनले भने, ‘कुन–कुन शीर्षकमा कति खर्च लाग्ने हो, सबै पारदर्शी हुनुपर्छ भन्ने हाम्रो अनुरोध हो ।’

मन्त्रालयका अनुसार कामदारको तलब, व्यवसाय तथा स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषय जापानी श्रम कानुनअनुसार हुनेछ । ‘अरू देशको जस्तो कामदारको न्यूनतम तलब तोकिनेछैन,’ ती अधिकारीले भने, ‘जापानको श्रम कानुनमै विदेशी नागरिक र जापानीबीच विभेद छैन, जति तलब जापानीले पाउने हो, त्यति नै नेपालीले पाउनेछन् ।’

समझदारीपछि सक्दो छिटो कामदार लैजान नेपाली पक्षको आग्रह छ । ‘जापानले केही तयारी गर्नुपर्नेछ । हाम्रा तर्फबाट लगभग सबै तयारी भइसक्यो,’ उनले भने, ‘छिट्टै समझदारीअनुसार कामदार पठाउनुपर्छ भन्ने हाम्रो कुरा हो ।’

जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) को चौथो तह पास भएका कामदार मात्रै जापान जान पाउनेछन् । यो भनेको आधारभूत जापानी भाषा बोल्न र पढ्न सक्नु हो । जापानले पहिलो ५ वर्षमा ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने नीति लिएको छ ।

‘जापान नेपालीका लागि सुरक्षित र आकर्षक गन्तव्य बन्नेछ । खाडी र मलेसियाकेन्द्रित नेपालीको श्रम बजार थप फराकिलो बन्ने स्थिति देखा परेको छ,’ श्रमविज्ञ गणेश गुरुङले भने, ‘समझदारीलाई प्रभावकारी कार्यान्वयन गर्न दुवै देशका संयन्त्र चुस्त हुनुपर्नेछ ।’

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्