महिला साफ च्याम्पियनसीपको उपाधि भारतलाई, नेपाल ३-१ ले पराजित


 


बिराटनगर चैत ८
महिला साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । फाइनलमा नेपाललाई हराउँदै भारतले लगातार पाँचौं उपाधि जितेको हो । यसअघि भएका चारवटै संस्करणमा भारत च्याम्पियन बनेको थियो । नेपालको उपाधि अभियानमा भारत सँधै बाधक बन्दै आएको थियो । घरेलु मैदान विराटनगरमा भएको यो संस्करणमा पनि नेपालले नयाँ इतिहास रच्न सकेन ।

सुरुदेखिनै आक्रामक फुटबल खेलेको नेपालले गोल गर्ने अवसर जुराउन सकेन । खेलमा भारतले पहिलो अग्रता लियो । २६औं मिनेटमा हिरा कुमारी भुजलेले फल गरे पछि पाएको फ्रि किकलाई डालिमा चिपरले उत्कृष्ट गोल गरेकी थिइन् ।

एक गोलले पछि परेको ६ मिनेट पछि नै नेपाल खेलमा फर्किएको थियो । प्रत्येक खेलमा गोल गरेकी सावित्रा भण्डारीले भारतविरुद्ध ३२ औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई फर्काउन सफल भइन् ।त्यसपछि पनि सावित्राले एउटा राम्रो मौका पाएकी थिइन् । तर भारतीय गोलकिपरको उत्कृष्ट बचाउ गरेपछि नेपालले अग्रता लिने मौका गुमाइन् ।

भारतविरुद्ध नेपालको डिफेन्स निकै कमजोर थियो । फस्वरुप ६२औं मिनेटमा डिफेन्सकै तालमेलको आभावको मौकामा सन्ध्या रंगनाथनको पासमा ग्रेस दाङ्मीले वन भर्सेस वनमा नेपाली गोलकिपरलाई विट गदै २–१ को अग्रता दिलाइन् ।

७८औं मिनेटमा भारतले अर्को गोल गर्‍यो । यस पटक अन्जु तामाङले गोल गरिन् । त्यसपछि नेपालको खेलमा फर्किने प्रयास असफल भयो । यस क्रममा सावित्रा भण्डारीले गोल गर्ने मौका गुमाइन् ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्