ओली सरकारले जनताको हितमा काम नगरेको आरोप


 


दमक ,चैत ९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदेम्बेले दुई तिहाईको कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

आज झापाको दमकमा नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेता आङ्गदेम्बेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीले जनताको उपलव्धिलाई संस्थागत गर्न नसकेको दावी गर्नुभयो ।

सरकार एकदलीय ढंगले अगाडी बढेको दावी गर्दे उहाँले प्रतिपक्षलाई दमन गरेर सरकार अगाडी बढे कांग्रेस सडकदेखि सदनसम्म आन्दोलित हुने बताउनुभयो । उहाँले अहिलेको सरकार यहि ढंगका साथ प्रस्तुत भईरहे जनताका उपलव्धिहरु कहिल्यै संस्थागत हुन नसक्ने ठोकुवा गर्नुभयो । नेता आङ्गदेम्बेले पार्टी भित्र देखिएको अनुशासनहिनताले पार्टी संगठन कमजोर भएकाले अव पार्टी भित्र अनुशासन मजवुत बनाउने प्रतिवद्धता गर्नुभयो ।

एकसाता अघि पार्टीले अनुशासन समितिको संयोजकको जिम्मेवारी दिएपछि पहिलोपटक दमकमा आउनुभएका उहाँले पार्टीमा अनुशासनको पद्धति बसाउन आफूले सवैको सहमति,सहकार्यका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो । यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा पूर्व सांसद विश्वदिप लिङ्गदेन, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी,नगर सभापति रोशन विष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्