राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन: मन्त्री थापा


 


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताएकी छन् ।

महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताइन् । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै गइरहेका छन्, त्यसको अन्त्यका लागि महिला आफैँ क्रियाशील र सशक्त भएर लाग्नु आवश्यक छ, ”थापाले भनिन् ।

महिलाको सोच, चिन्तन र व्यवहारमा अझै परिवर्तन आवश्यक रहेकोमा मन्त्री थापाले जोड दिइन् । सरकारले संविधानको मर्मबमोजिम झण्डै १६४ कानूनलाई संशोधन गरेको उनले बताइन् ।

अखिल नेपाल महिला संघकी अध्यक्ष गोमा देवकोटाले महिला आर्थिक र सामाजिक क्षेत्रमा माथि नउठेसम्म समाज परिवर्तन सम्भव नरहेको बताउँदै आर्थिक सवलीकरणमा महिला लाग्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिइन् ।

हाल विकास केन्द्रमा जम्मा ३४ हजार सदस्य आवद्ध रहेको र ३२ वटा जिल्लामा सेवा प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष तुलसी थापाले जानकारी दिइन् । संस्थाले महिलालाई माथि उठाउन विभिन्न आयमूलक तालीम प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्