अनलाइनबाटै स्नातक तह प्रथम वर्षको परीक्षा फाराम भर्न पाउने


 


काठमाडौं –  त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने भएको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था थालेको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

‘हामीले अब परीक्षा दिने स्नातक तह प्रथम वर्षका विद्यार्थीको परीक्षा फाराम अनलाइनमार्फत भर्ने व्यवस्था गरेका छौँ’, उनले भने, ‘अहिले पढिरहेका स्नातक तह प्रथमका सबै विद्यार्थीले फारम अनलाइनमार्फत् भर्ने छन् ।’ अहिले क्याम्पसले नै भरिदिने व्यवस्था गरेको अनलाइन फारामपछि विद्यार्थीले आफैले नै भर्नसक्ने छन् । यसरी विद्यार्थीले अनलाइनमार्फत् भरेका परीक्षा फारामको प्रवेश पत्र आफैँले नै प्रिन्ट गरेर लिन पाउने उनले बताए । उनीहरु आफैँले प्रिन्ट गरेको प्रवेशपत्र लिई परीक्षामा सहभागी हुन पाउने छन् । यसैगरी त्रिविले अबदेखि फोटोसहितको रजिष्ट्रेशन स्लिप लागू गर्ने भएको छ ।

परीक्षा नियन्त्रक जोशीले अब नयाँ रजिष्ट्रेशन स्लिप लिने विद्यार्थीले फोटोसहितको हुने बताए । उनले अबदेखि परीक्षामा अनलाइनमार्फत् भरेको फारामको प्रवेशपत्रसँगै फोटोसहितको रजिष्ट्रेशन स्लिप लिएर जानुपर्ने बताए । ‘हामीले अबदेखि अनलाइनमार्फत् भरेको फाराममा रहेको प्रवेशपत्र प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्दैछौँ’, उनले भने, ‘उक्त प्रवेशपत्र फोटोसहितको रजिष्ट्रेशन स्लिप अनिवार्य लैजानु पर्दछ ।’

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्