नेपाल टेलिकमको छलाङ : हाल देशभर मोबाइल सेवाका ग्राहक मात्र १ करोड ८८ लाख


 


काठमाडौं । करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुस्किल छ ।

नेपाल टेलिकमले २०५६ साल बैशाखमा मुलुकमा नै पहिलोपटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसवेला मोबाइल सेवाको मूल्य तुलनात्मक रुपमा महंगो पर्ने भएकाले सुरुका केही वर्षसम्म यस सेवाका ग्राहकहरु पनि थोरै थिए ।

सेवाको विस्तार पनि सीमित थियो । २०६० सालसम्म पनि नेपाल टेलिकमका कुल ग्राहक आधार ४ लाख २२ हजार मात्र थिए । हाल दूरसञ्चार प्रविधिको विकाससँगै त्यसको मुल्यमा पनि कमी आएकाले प्राविधिक र आर्थिक रुपमा पनि यो सेवा आम उपभोक्ताको सहज पहुँचमा पुगेको छ ।

नेपाल टेलिकमले मुलुकका आर्थिक गतिविधि बढी हुने सहरी क्षेत्रदेखि अति दुर्गम पहाडी तथा हिमाली क्षेत्रसम्म सेवाको ब्यापक विस्तार गर्नुका साथै सेवाको मुल्य पनि सहुलियतपूर्ण गर्दै ल्याएपछि मोबाइल फोन सेवालगायत दूरसञ्चार सेवाको उपभोग गर्ने ग्राहकहरुको संख्या पनि ब्यापकरुपमा बृद्धि भएको जनाएको छ ।

टेलिकमका अनुसार २०७५ पुस महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार करिव २ करोड १३ लाख पुगेको छ ।  यस मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक मात्र १ करोड ८८ लाख रहेका छन् । यसबाहेक सीडीएमए सेवाका ग्राहक १७ लाख ५२ हजार र पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ७६ हजार रहेका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्