मुख्यमन्त्री राईको सार्थक पहल : कोसी करिडोर प्रसारणको अवरोध हट्यो, काम सुचारु


 


काठमाडौं, चैत २९
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विशेष पहलमा कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणको अवरोध हटेको छ । गत मंसिरबाट विभिन्न क्षेत्रबाट अवरोध सिर्जना भएको थियो । अवरोध हटेपछि विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको काम सुचारु भएको छ ।

समस्या समाधानका लागि मुख्यमन्त्री राईले पहल गर्नुभएको थियो । उहाँले उपमहानगरपालिका प्रमुख, वडाध्यक्ष, त्यस क्षेत्रका संघ तथा प्रदेशका सांसद, स्थानीयवासी लगायतसँग पटकपटक छलफल गर्नुका साथै प्रसारण लाइन रहने क्षेत्रको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।

गत पुसमा राईको उपस्थितिमा धरानमा भएको सरोकारवालाको भेलाले समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठित कार्यदलमा कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक/एक जना प्रतिनिधि थिए । कार्यदलले रुट परिवर्तन गर्न नसकिने प्रतिवेदन दिएको थियो ।

‘१७ वटा टावर निर्माणमा अवरोध थियो, मुख्यमन्त्रीको विशेष पहलमा पटकपटक भएको छलफलबाट वडाध्यक्ष लगायत प्रस्तावित रुटबाटै प्रसारण लाइन लैजान दिन तयार भएपछि निर्माण सुरु गरिएको छ, आयोजना प्रमुख राजन ढकालले भने प्रभावलाई न्यूनिकरण गर्न आयोजनाले स्थानीय रुपमा गर्न सक्ने सामुदायिक विकासका कार्यक्रमहरु संचालन गरिने छ’ ।

निर्माण कार्य अबरोध हुँदा हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुवाट उत्पादन हुने अनुमानित ५५० मेगावाट विद्युत खेर जाने अवस्था आउने, यसबाट राष्ट्रलाई ठूलो क्षति पुग्ने देखेपछि मुख्यमन्त्री राईले विशेष पहल गर्नुभएको थियो । प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ । अब सोही रुट हुँदै प्रसारण लाइनको निर्माण हुनेछ ।

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था छ ।

करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण जुन २०१९मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

३२० वटा टावरमध्ये २१० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिए । अब केही दिनमै टार तान्न पनि सुरु हुने उनले बताए । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ ।

दोस्रो प्याकेजको इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२०मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२०मा सक्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्