वर्षाले बाधक भएपछि आईसीसी विश्वकप छनोटमा नेपाल यूएईसँग १ रनले पराजित


 


काठमाडौं । आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ रन जोड्दा वर्षा बाधक बन्यो । सो अवस्थामा खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लेविसका आधारमा १ रनले पराजित भएको हो । यूएईबाट तेस्रो विकेटका लागि व्रित्य अरविन्द र अंश टन्डनले १ सय १ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपाल खेलमा पछि परेको थियो ।

त्यसअघि नेपालले यूएईका दुवै ओपनरलाई सस्तैमा पेभेलियन फर्काएको थियो । साएद हैदर ११ र कप्तान आर्यन लाक्रा ४ रनमा आउट भए । अरविन्द ४७ रनमा नटआउट रहे । उनले ८२ बल खेल्दै ४ चौका प्रहार गरे । वर्षाले खेल रोकिनुअघिको अन्तिम बलमा सागर ढकालले अंशको विकेट लिएपनि त्यसले निर्णय लिन भने सहयोग पुगेन । उनले ८५ बलमा ४ चौकासहित ५४ रन जोडे ।

त्यसअघि मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनायो । एक समय ११५९५ को स्थितिमा पुगेको नेपाली टोलीलाई भीम र हरिको छैटौं विकेटको साझेदारीले उकासेको थियो । भीम ५३ रनमा क्याच आउट हुनुअघि यी दुईले ९२ रनको साझेदारी गरे । भीमले ५४ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । हरिले आक्रामक ब्याटिङ गर्दै नेपाललाई बलियो स्कोरसम्म पुर्याए । उनले ७५ बलको सामना गर्दै ७ चौकाको मदतले नटआउट ६७ रन जोडे ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा पवन सरार्फलाई तेस्रो ओभरको पाँचौ बलमा १२ रनमा गुमाएको थियो । सरार्फलाई मोहम्मद फराजुद्दीनले विकेटकीपर अरविन्द्रबाट क्याच आउट गराए । त्यस्तै दोस्रो विकेटका रुपमा आशिफ शेख १६ ओभरको पहिलो बलमा ३८ बलमा ५ चौका प्रहार गर्दै २७ रनमा पेभिलिएन फर्किए । आशिफलाई मुखर्जीले मोहम्मद फराजुद्दीनबाट क्याच गराए ।

त्यस्तै २२ औं ओभरको पहिलो बलमा मुखर्जीलेनै रोहित कुमार पौडेलाई १८ रनमा आउट गरे । रोहितले २३ बलमा ३ चौका प्रहार गरे । २३ औं ओभरको अन्तिम बलमा सन्दीप जोरालाई ४ रनमा क्याच आउट भएपछि नेपाल दवावमा परेको थियो । नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोडे । उनले ७३ बलमा ३ चौका सहित ४४ रनको योगदान दिए । उनी २६ औं ओभरमा क्याच आउट भएका थिए । अन्य ब्याट्सम्यानमा कुशल मल्ल र राशिद खानले १९१ तथा कमलसिंह ऐरी र सागर ढकालले २९२ रनमात्र जोडे । यूएईका लागि ऋषभ मुखर्जीले ४ तथा मोहमद फरजुद्दीनले ३ विकेट हात पारे ।

प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ ।

पहिलो खेलमा सहज जित दर्ता गरेको नेपालको यस पराजयले भने छनोटबाट बञ्चित हुने डर बढेको छ । यूएईले भने लगातार दोस्रो जित दर्ता गरेको छ ।
यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्