ए मेरो हजुर ३ : दर्शकले रुचाए अनमोल र सुहानाको जोडीलाई


 


काठमाडौँ । फिल्मको कथा राम्रो भए तथा त्यसलाई प्रस्तुत गर्न सक्ने क्षमता उत्कृष्ठ भएमा त्यो फिल्मलाई सबै दर्शकले रुचाउछन् । दर्शकहरुमा पनि आफ्नै देशमा बनेको फिल्मलाई माया गर्नुपर्छ भन्ने कुराको विकास भएको छ ।

राम्रो फिल्म बनेन भने उक्त नेपाली फिल्म नहेर्ने रोजाई दर्शकको हो । केही परिवर्तन भयो कि भन्ने आशा र विश्वासमा नेपाली दर्शकहरु हलमा पुग्छन् । त्यतिमात्र नभइ आफूलाई मन पर्ने कलाकारको फिल्म भनेर पनि हेर्न पनि हल पुग्ने गर्छन । तर ती कलाकारहरुले गरेको फिल्म पनि निराशाजनक भएपछि फिल्म हेर्न गएकोमा धिक्कार मान्दै फर्कन्छन् । जो कोही पनि फिल्म हलमा भरपुर मनोरञ्जन लिनको लागि पुग्छन । मनोरञ्जन नपाए उनीहरु पुनः दोहो¥याए फिल्म हेर्न जान गाह्रो मान्ने गर्छन । पछिल्लो समय नेपाली फिल्म जगतमा थोरै फरक भने पक्कै आउन थालेको छ ।

केही त्यस्तोे आभास दिलाएको छ फिल्म ए मेरो हजुर ३ ले पनि । शुक्रबारदेखि देशका सबै हलहरुमा प्रदर्शनमा आएको फिल्म ए मेरो हजुर ३ हाउस फुल भएको फिल्मका निर्देशक झरना थापाले बताइन् । साँझको समयमा गोपीकृष्ण हलको सबै सिटहरु भरिभराउ थियो । झन्नै सिट नपाउने अवस्था रहेको थियो । पिल्मले वास्तवमा नै दर्शकलाई मनोरञ्जन दियो । दर्शकहरु जोडतोडको साथ चिच्याइ चिच्याइ फिल्म हेरिरहेको थिए ।

पिल्ममा सुहाना थापा र अनमोल केसीको मूख्य भूमिकामा छन । फिल्मको निर्देशन भने झरना थापाले गरेकी हुन् । यो फिल्मलाई निर्माण भने सुहाना ब्यानरमा सुनिल थापाले गरेका हुन् । उनीहरुले आफ्नो तर्फबाट सक्दो काम दिएको देखिन्छ । फिल्ममा धेरै सस्पेन्डहरु छन् । जस्ले फिल्मलाई रोमाञ्चक बनाएको छ । नेपाली फिल्म राम्रो बनाउने प्रयास भए पनि अझै सुधार्नु पर्ने त देखिन्छ नै । फिल्म राम्रो बनेको छ तर बोलेको आवाज कुनै ठाउँमा नमिलेको भने पाइएको छ । एउटा सम्वाद नसकिदै अर्को सम्वाद आएको सुनिन्छ । त्यो भने प्राविधिक पक्षको कमजोरी हो भन्न सकिन्छ ।

फिल्म लभ स्टोरीमा आधारित छ । जहाँ विद्यार्थीको होस्टेल जीवनलाई पनि समेटेको छ । फिल्मको पूर्वाद्धमा कलाकारहरु दर्शकलाई हसाउँन सफल भएका छन् । जहाँ धेरै शब्दहरुको प्रयोग भएको छ जुन हाम्रो समाजले अलि पचाउन नसक्ने खालको पनि देखिन्छ । फिल्म हेर्नेक्रममा केही दर्शकहरुबाट पनि त्यसबारे ध्यान दिदै अलि परिवारसंग बसेर हेर्न अप्ठेरो हुने किसिमका शब्दहरुको प्रयोग भएको प्रतिक्रिया दिएको पाइयो ।

फिल्मको उतराद्र्धमा पात्रहरु त्यति हसाउँन सफल भएका छैनन् जति पूर्वाद्धको दृश्यमा देखिएको थियो । भावुक बनाएर केही दर्शकको आँखाबाट आँसु बगाउन भने फिल्म सफल भएको छ । फिल्म प्रदर्शन भन्दा अगाडि झै फिल्ममा पनि अनमोल र सुहानाको जोडीलाई दर्शकहरुले निकै रुचाएको पाइएको छ । केमेष्ट्री राम्रैसंग जमेको देखिन्छ । सुहानाको डेव्यु फिल्मले डेव्युको भान भने गराएको छैन ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्