साथीसँग मिलेर टिकटक भिडियो बनाउँदै गर्दा थाहै नपाइ साथीको हत्या गरे


 


काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा १९ वर्षका युवकले चलाएको गोली लागेर एकको मृत्यु भएको छ । ती युवकले साथीलाई बन्दुक देखाउँदै भिडियो बनाइरहेका बेला यस्तो घटना भएको हो । पुलिसले यसबारे आइतबार जानकारी दिएको हो ।

पुलिसका अनुसार शनिबार राती सलमान नामका एक व्यक्ति आफ्ना साथी सोहेल र आमिरसँग इन्डिया गेटको यात्रामा निस्किए । फर्कने बेला, कार चलाइरहेका सलमान नजिकै बसेका सोहेलले बन्दुक निकाले । टिकटकमा भिडियो बनाउँदै सोहेलले सलमानलाई बन्दुक ताके तर त्यसबाट निस्केको गोली सलमानको बायाँ गालामा लागेको पुलिसले बताएको छ ।

स्रोतका अनुसार घटनाका बेला आमिर पछाडिको सिटमा बसेका थिए । घटनापछि दुई साथी आत्तिँदै सोहेलका दर्यागञ्जस्थित आफन्तकोमा गए र रगत लत्पत्तिएको लुगा फेरे । त्यसपछि उनीहरुले सलमानलाई नजिकैको एदएनजेपी अस्पताल पुर्याए । डाक्टरले त्यहाँ उनको मृत्यु भइसकेको घोषणा गरे ।

सलमानलाई अस्पताल भर्ना गरेलगत्तै उनीहरु त्यहाँबाट भागे । बेलुकी करिब सवा ११ मा अस्पताल प्रशासनले पुलिसलाई खबर गरेको बताइन्छ । आमिर, सोहेल र सरिफ नामका एक व्यक्तिलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।

सलमानलाई गोली चलाएको आरोपमा, आमिरलाई हतियार जमिनमा गाडेको र घटनास्थलमा नभएका सरिफलाई रगताम्मे लुगा जमिनमा पुरेको आरोपमा पक्राउ गरिएको पुलिसले बताएको छ । सलमानको पोष्टमार्टम सोमबार गरिने जानकारी दिइएको छ । बन्दुक नियतवश वा दुर्घटनावश चलेको बारे अनुसन्धान गरिने जानकारी पुलिसले दिएको छ ।

सलमानका एक आफन्तले भने, ‘उसका दुई साथी अघिल्लो राती आए र इन्डिया गेट जाऔं भने । त्यसकारण सलमानले आफ्नो कार निकालेर साथीहरुसँगै घुम्न निस्किए । घटनाबारे पुलिसमार्फत् जानकारी पाएपछि हामी अस्पताल पुगेका हौं,’ उनले भने । आफन्तका अनुसार घरका कान्छा छोरा सलमानका एक दाइ र एक दिदि छन् । उनको बुवाको ज्याकेट र जिन्सको व्यवसाय छ ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्