प्रचण्डले भने डिग्री होल्डर युवा विदेश जानु राम्राे भएन


 


काठमाडौं, २ वैशाख
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरु स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु ठीक नभएको बताएका छन् ।

नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा पढेकाहरु यहाँ श्रम गर्नुभन्दा विदेशमा नोकरी गर्नु उचित ठानिरहेको भन्दै नेपालको शिक्षा प्रणालीमै कमजोरी रहेको हुन सक्ने औंल्याए ।

‘हाम्रा डिग्री होल्डर धेरै पढेका छन्, तर सामान्य नोकरीका लागि विदेश जानुपर्‍या छ’, उनले भने ‘हाम्रा बाआमाले आत्मनिर्भर नेपाल दिए, हामीलाई स्वाधीन नेपाल दिए । अर्गानिक खानेकुरा दिए । तर हामीले न आधुनिक खेती गरेर विदेश निर्यात गर्न सक्यौं न खाद्यान्नमा आत्मनिर्भर हुन सक्यौं ।’

प्रचण्डले नेपाल पहिले कृषिमा आत्मनिर्भर भए पनि अहिले उन्नत खेती प्रणालीको विकास भइसकेको बेला विदेशबाट आयात गर्ने अवस्था आउनु दुखदायी भएको बताए ।

‘बाहिर गएर जस्तोसुकै श्रम गर्न पनि तयार, आफ्नै देशभित्र श्रम गरेर उत्पादन गर्नेतिर प्रवृत्त किन हुन सकेनौं ?’ उनले युवाहरुलाई प्रश्न गरे ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्