अघि बढ्यो पेट्रोलियम उत्खननको काम


 


काठमाडौं, बैशाख २

दैलेखको पादुका क्षेत्रमा पेट्रोलियम खानीको बिस्तृत अध्ययनका लागि चिनिया टोली नेपाल आउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा सुरु गरिएको पेट्रोलियम खानी उत्खननको बिस्तृत अध्ययनका लागि आगामी मे महिनाको मध्यतिर चिनिया टोली नेपाल आउन लागेको हो ।

संविधानसभाले नयाँ संविधान जारी गरेपछि नाकाबन्दीको सामना गरेलगत्तै प्रधानमन्त्री ओलीले पेट्रोलियम खानीको उत्खनन गर्ने काम अघि बढाउनु भएको थियो । प्रधानमन्त्री ओली सरकारबाट हटेपछि लगभग निस्कृय रहेको खानी उत्खनन कार्य उहाँ पुनः सत्ताको नेतृत्व गरेलगत्तैबाट गति लिएपछि चिनिया टोली आउन लागेको हो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चिएसँगै पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण अघि बढाइएको थियो ।

अघिल्लो पटक नै प्रधानमन्त्री ओलीले दैलेखको पादुका क्षेत्रमा अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गर्नुभएको थियो । सोही अनुसार विसं २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । तर सरकार परिवर्तन भएपछि अन्वेषण तथा अध्ययनको काम अगाडि बढ्न सकेको थिएन ।

लामो प्रक्रिया र कसरतपछि खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेसँग १६ फागुनमा खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भयो । पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेका अनुसार चिनियाँ टोली सन् २०१९ को मे मध्यतिर नेपाल आउने तयारी गरेको छ ।

शुरुको समझदारीअनुसार काम भएको भए यतिखेर नेपालको भूभागभित्र के कति मात्रामा पेट्रोलियम पदार्थ छ र आर्थिक रुपमा त्यस्ता खानी सञ्चालनमा ल्याउन सम्भव हुन्छ कि हुँदैन भन्ने समेत पत्ता लागिसक्थ्यो । ढिलै भए पनि चीनको चाइना जिओलोजिकल सर्भेको टोली नेपाल आउन लागेको छ । टोलीले दैलेखको पादुका क्षेत्रमा अध्ययन गर्नेछ ।

खानी तथा भूगर्भ विभागका अनुसार पाल्पा, दैलेख, सुर्खेत, उदयपुर, नेपालगञ्जलगायतका क्षेत्रमा चिनियाँ टोलीले अध्ययन गर्ने तयारी गरिएको छ । चिनियाँ टोलीले पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्नेछ । इन्धन भण्डार पत्ता लगाउन विभिन्न क्षेत्रमा ड्रिलिङ गर्ने र भण्डार के कति मात्रामा छ भन्ने पत्ता लगाउनेछ । पत्ता लागेका खानीमा विशेष अध्ययन गरेपछि मात्रै पेट्रोलियम पदार्थको मात्रा र आर्थिक रुपमा सम्भाव्य भए नभएको पत्ता लगाउनेछ ।

‘चिनियाँ टोलीले पहिलो चरणमा पूर्वतयारीको काम गर्नेछ । पूर्वतयारी सम्पन्न गरेपछि प्राविधिक टोलीले आगामी वर्षदेखि मात्रै ड्रिलिङको काम गर्नेछ,’ विभागका उपमहानिर्देशक सुधीर रजौरेको भनाई उधृत गर्दै राससले जनाएको छ ।

अध्ययनपछि मात्रै नेपालको भूभागभित्र रहेको इन्धनको भण्डार र क्षमता कति छ ? खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भव छ वा छैन ? भन्ने तथ्यसमेत पत्ता लाग्ने भएकाले पूर्वतयारीको काम थप बढी प्रभावकारी बनाउनु आवश्यक छ । सरकारले गत पुसमा खानी अन्वेषण तथा अध्ययनको सम्झौताका लागि स्वीकृति दिएको थियो ।

दैलेखको पादुका क्षेत्रमा बलिरहेको ज्वालाले पेट्रोलियम पदार्थ छ भन्ने देखाए पनि त्यहाँ के कति मात्रामा उपलब्ध छ भन्ने विषय पत्ता लगाउन भने थप अध्ययन तथा ड्रिलिङको आवश्यकता पर्ने रजौरेले बताउनु भयो । जानकारहरुका अनुसार चुरे पर्वत श्रृंखलाको आसपासमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको छ । मोरङको बाहुनी भन्ने स्थानमा त ०४२ सालमा नै पत्ता लागेको थियो । नेपाल, इटाली, स्विटजरल्याण्ड र नेदरल्याण्ड्सका प्रतिनिधिको सहभागितामा अध्ययन गरिएको थियो ।

इटालीको साइपम नामक कम्पनीले तीन हजार ५ सय मिटर बराबरको ड्रिलिङ गरी पेट्रोलियम पदार्थ रहेको पत्ता लगाएको थियो । तर लामो समयसम्म बाहुनी क्षेत्रमा अन्वेषणको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । विसं २०७२ को वैशाखमा चिनियाँ टोलीले सोही क्षेत्रमा स्थलगत निरीक्षणबाहेक हालसम्म अरू काम अगाडि बढेको छैन ।

अघिल्लो पटक नै प्रधानमन्त्री ओलीले दैलेखको पादुका क्षेत्रमा अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गर्नुभएको थियो । सोही अनुसार विसं २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो

भारत र पाकिस्तानले पनि चुरे जस्तै पर्वत श्रृंखलाको आसपासमा भएको पेट्रोलियम पदार्थको खोज तथा अनुसन्धान गरिरहेको छ । त्यस आधारमा पनि नेपालको चुरेभन्दा दक्षिणको क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार रहेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्