नेपाल एयरलाइन्सले बोइङ जहाज उडान नगर्ने


 


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बोइङ जहाज उडान नगर्ने घोषणा गरेको छ। एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले अब बोइङ उडान नगर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग राय माग गरेको बताएका छन्।

निगमसँग अहिले उडानयोग्य एउटा बोइङ जहाज छ। तर, जहाज उडान गर्दै आएका चार जना पाइलटकै सिप परीक्षण प्रमाणपत्र नवीकरण नहुँदा जहाज ३ महिनादेखि ग्राउन्डेड भएको थियो।

२८ अक्टोबर, २०१८ मा निगमले मर्मतका लागि बोइङ ७५७ मलेसिया पठाएको थियो। मर्मतपछि १६ जनवरी, २०१९ मा जहाज मलेसियबाट काठमाडौं आउँदै थियो। तर, उडिरहेको बेला ’विङ स्क्रिन’ बिग्रन गयो। समस्या आए पनि जहाज काठमाडौं विमानस्थलमा अवतरण गरिएको थियो। त्यसपछि केही दिन जहाज ग्राउन्डेड भयो। ग्राउन्डेड भएको जहाज प्राविधिक टोलीले मर्मत गरेर उडानयोग्य बनाए। तर, उडानयोग्य हुँदै गर्दा बोइङ उडान गरिरहेका पाइलटहरुको पिपिसी म्याद सकिएको थियो। पाइलटहरुले पनि जहाज नै नउडाई ४५ घन्टा बराबरको मासिक २ लाखभन्दा बढी तलब लिइरहेका छन्।

बोइङ उडान गर्ने क्याप्टेनहरु ओमबहादुर गुरुङ, शुक्र शमशेर जंगबहादुर राणा, दिपाल शेरचन र रवीन्द्रबहादुर श्रेष्ठको पिपिसी म्याद सकिएको थियो। अन्ततः कार्यकारी अध्यक्ष खरेलले निगमले बोइङ जहाज बिक्री गर्ने बताएका छन्।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्