पुरानो बसपार्कमा सम्झौताविपरीत करोडौंको चलखेल, खुलामञ्च नै मासिने खतरा


 


काठमाडौं। पुरानो बसपार्कमा सम्झौताविपरीत सटर निर्माण गरी भाडामा दिँदा ठेकेदार कम्पनीले करोडौंको चलखेल गरेको पाइएको छ । हाल खुल्लामञ्चमा अस्थायी रूपमा रहेको बसपार्क व्यवस्थापनको जिम्मा जलेश्वर स्वच्छन्द विकोई विल्डर्स नामक निजी कम्पनीलाई छ । कम्पनीले साबिकको बसपार्क रहेको स्थानमा हाल काठमाडौं भ्यु टावर निर्माण भइरहेको छ । बसपार्कभित्रको स्थानमा ठेकेदारले ४२ भन्दा बढी सटर निर्माण गरी पसल सञ्चालन गर्न थालेको हो । कम्पनीले सटर भाडामा लगाउने क्रममा समेत टेन्डर आह्वान र बिल भर्पाइबिना नै पसल बिक्री गरी चलखेल गरेको पाइएको छ ।
व्यापारीका अनुसार ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरिएका छन् । सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म रहेको उनीहरू बताउँछन् । सटर भाडामा लिनेमा अधिकांश फुटपाथमा व्यापार गर्ने साना व्यापारी छन् । उनीहरूले बिचौलियाको माध्यमबाट सटर खरिद गरेका थिए । सटर खरिदमा झन्डै ३ करोडको चलखेल भएको स्रोतको दाबी छ ।

यस्तोे छ सम्झौता

महानगरपालिकाका अनुसार २२ फागुन २०७१ मा कम्पनीले सार्वजनिक निजी साझेदारीको अवधारणाअन्र्तगत टावर निर्माण गरी सञ्चालन गर्ने र ३० वर्षमा महानगरलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो ।सोही सम्झौताअनुसार टावर निर्माणका लागि बसपार्कलाई अस्थायी रूपमा काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको खुल्लामञ्चको जग्गामा सारिएको थियो । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार यसै सम्झौताको आधारमा टावरको निर्माण अवधिमा कम्पनीले आफ्नै लगानीमा बसपार्क निर्माण, व्यवस्थापन, मर्मतसम्भार गर्ने र यसवापत महानगरपालिकालाई वार्षिक ५० लाख बुझाउने सहमतिअनुरूप महानगरपालिकाले १२ चैत्र २०७३ मा सोसम्बन्धी निर्णय गरेको थियो । त्यसपछि ८ वैशाख २०७४ मा कम्पनीसँग १० बुँदे सम्झौता भएको थियो ।

। सम्झौतापत्रमा सम्बन्धित कम्पनीले बसपार्कका लागि आवश्यक पर्ने तीनवटा बस काउन्टर, तीन यात्रु प्रतीक्षालय, एक सार्वजनिक शौचालय, एक क्यान्टिन र औषधि पसल बनाउनुपर्ने उल्लेख गरिएको थियो । सहमतिको बुँदा नम्बर ६ मा महानगरपालिकाले स्वीकृत गरेको संरचना मात्र निर्माण गरी प्रयोग गर्न पाउने भन्ने उल्लेख छ । बुँदा ७ मा यसरी सञ्चालन गर्दा सेवाग्राहीलाई असर नपर्ने गरी काम गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, बुँदा ८ मा कम्पनीले सञ्चालनका क्रममा सरकार र महानगरपालिकाले निषेधित गरेका अन्य काम गर्न नपाउने स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर, ठेकेदार कम्पनीले सम्झौता उल्लंघन गरी सम्झौतामा उल्लेख नै नभएका सटर निर्माण गरी भाडामा लगाएको छ । यस क्रममा कम्पनीले ४२ भन्दा बढी सटर निर्माण गरी व्यापारिक प्रयोजनमा भाडामा लगाएको हो । यसरी भाडामा लगाउने क्रममा करोडौं रुपैयाँको चलखेल भएको विभिन्न तथ्यले देखाएको छ । कम्पनीले महानगरपालिकासँग गरेको सम्झौताअनुसार भ्यु टावरको भुइँ तलामा बसपार्क निर्माण गरी हाल खुलामञ्चमा सञ्चालित अस्थायी बसपार्क त्यहाँ स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले हाल निर्माण भएका संरचना सम्झौताविपरीत भएको बताए ।
ठेकेदार कम्पनीले तीन वर्षका लागि व्यवस्थापनको जिम्मा पाएको र यसबापत महानगरपालिकालाई वार्षिक ५० लाख भाडा तिर्नुपर्ने दाबी गर्दै आएको छ । कम्पनीका प्रतिनिधि मनोज भेटुवालले सटर निर्माण सम्झौताअनुसार नै भएको र महानगरपालिकाबाट समेत अनुमति लिएको दाबी गरे । तर, महानगरपालिकाले यो कार्य सम्झौताविपरीत रहेको जनाएको छ । सहमति तोडेर संरचना निर्माण गर्दा बसपार्क साँघुरिँदै गएको तथा यात्रुले सास्ती खेप्नु परेकाले यी संरचना भत्काउने तयारी महानगरले गरेको छ । प्रवक्ता डंगोलले आवश्यक कारबाहीका लागि महानगरपालिकाले छलफल अगाडि बढाइसकेको र छिट्टै आवश्यक निर्णय लिइने जानकारी दिए ।

खुलामञ्च कब्जा गर्ने भूमाफियाको चलखेल

कम्पनीको सटर भाडामा लगाएर रकम असुल्ने प्रक्रियालाई स्थानीयले खुलामञ्च कब्जा गर्ने भूमाफियाको चलखेल भएको दाबी गरेका छन् । अस्थायी संरचना निर्माण गरी स्थान दिँदा भविष्यमा हटाउन गाह्रो पर्ने र यसबाट खुलामञ्च नै मासिने स्थिति आउनसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । यता ठेकेदार कम्पनीले भने तीन वर्षसम्मको सम्झौता रहेकाले अनिवार्य बन्नुपर्ने संरचनाबाहेकका अस्थायी संरचना निर्माण गरी भाडामा लगाइएको जानकारी दिएको छ । ठेकेदार कम्पनीले तीन वर्षसम्मका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएकाले अस्थायी संरचना निर्माण गरी भाडामा लगाउन समस्या नरहेको बताएको छ । हाल ती सटरमा कपडा, फलफूल, घडीलगायतका पसल सञ्चालित छन् । पसल सञ्चालकहरू महानगरपालिका र ठेकेदार कम्पनीबीचको विवादले आफूहरू मर्कामा परेको र सटरमा करोडौंको चलखेल हँुदासमेत महानगरपालिकाले कुनै चासो नदेखाएको बताउँछन् ।

विरोधमा व्यवसायी

व्यापारिक प्रयोजनका लागि सटर निर्माण गरेर ठेकेदार कम्पनीले करोडौं रुपैयाँको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले विरोध जनाएको छ । बसपार्क सञ्चालनको सम्झौता नै गलत रहेकाले तत्काल सो क्षेत्रमा निर्माण भइरहेका संरचना हटाउनुपर्ने माग संघको छ । नहटाए कडा आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ । टेन्डर र आधिकारिक बिलबिनै ठेकेदार कम्पनीले गैरकानुनी रूपमा करोडौं रकम असुल गरिरहेकाले यसबारे छानबिन हुनुपर्ने बताउँदै संघले सम्झौता सार्वजनिक गर्नसमेत माग गरेको छ ।

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्