प्रदेश नं.१ को राजधानी विराटनगर, दुई तिहाई बहुमतबाट पारित


 


विराटनगर, २३ वैशाख

प्रदेश नं.१ को राजधानी विराटनगर दुई तिहाई बहुमतले आज पारित भएको छ ।

प्रदेश सभाको आजको बैठकमा नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं.१ को प्रदेश सभा नियमावली, २०७४ को नियम ५८क (१७) ( पहिलो संशोधनद्वारा संशोधित) बमोजिम प्रदेशको राजधानी सम्बन्धि प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फबाट प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले पेश गर्नु भएको थियो ।

सो सम्बन्धमा प्रदेश सभाको बैठकमा चार वटा प्रस्ताव दर्ता भएको थियो । विराटनगरकै लागि नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेश सभा सदस्य केदार काकी, धनकुटाका लागि सदस्य लीला सुब्बाु तथा धनकुटाकै लागि निरन राई दर्ता गराउनु भएको प्रस्ताव फिर्ता लिनु भएपछि उक्त प्रस्ताव दुई तिहाईले पारित भएको हो ।

कुल ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभा उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा हस्ताक्षर सहितको मतदान गर्नु भयो भने भने विपक्षमा शून्य मत देखिएको सभामुख प्रदीपकुमार मण्डारीले जानकारी दिनु भयो ।

प्रदेशको स्थायी राजधानीका लागि बनेको नियमावली पनि आजैबाट निलम्वन भएको सभामुख भण्डारीले जानकारी दिनु भयो भने सो नियमाबली निलम्वन गर्न सदस्य बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा सदस्य जयराम यादवले समर्थन जनाउनु भएको थियो ।

प्रदेश नं.१ को स्थायी राजधानी विराटनगर नै भनिएपनि कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरु वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैचा क्षेत्र आसपासका क्षेत्रमा रहनेछ प्रस्तावको कैफियतमा उल्लेख छ ।

आफ्ना प्रस्ताव फिर्ता लिँदै सदस्य केदार कार्कीले आर्थिक, सामाजिक, राजनीतिक र पूर्वाधारका हिसाबले प्रदेश नं.१ स्थायी राजधानी विराटनगर कायम हुनु हामीलाई गौरान्वित बनाएको धारणा राख्नु भयो ।

प्रस्तावक भण्डारीले प्रदेश सरकारले दुई तिहाईको दम्भबाट नभएर सबैको भावना र आकाँक्षालाई पूरा गर्न प्रदेशको राजधानी विराटनगर कायम गरेको बताउनुभयो ।

सदस्य जयराम यादव र इन्दिरा राईले एतिहासिक महत्व बोकेको विराटनगर राजधानी कायम हुनु निकै खुशी व्यक्त गर्दै सत्तापक्षले संरचना निर्माणका विषयमा प्रतिपक्षसँग गरेको भद्रसहमतिलाई पालना गर्नु पर्ने धारणा राख्नु भयो ।

सदस्य विष्णु तुम्वाहाम्फेले समस्याग्रस्त विराटनगरमा राजधानी कायम हुनु राम्रो होइन प्रतिक्रिया दिनु भयो । प्रदेश नं.१ को तेस्रो अधिवेशन आज राति १२ः०० बजेबाट अन्त्य भएको सभामुख भण्डारीले मन्त्रीपरिषद्को सिफारिशमा प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्बाहाङले पठाउनु भएको पत्र पढेर सभामा जानकारी दिनु भएको थियो ।

प्रकाशित मिति: २३ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्