आइपिएल क्रिकेट : धोनीको चेन्नईलाई पराजित गर्दै फाइनलमा पुग्यो मुम्बई


 


एजेन्सी | इन्डियन प्रिमियर लिग सिजन १२ को पहिलो क्वालिफायरमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स पराजित भएको छ। चेन्नईलाई मुम्बई इन्डियन्सले ६ विकेटले पराजित गरेको हो। यो जितसँगै मुम्बई सिजन १२ को फाइनलमा पुगेको छ। चेन्नईलाई फाइनल पुग्ने एक अर्को मौका मिल्नेछ।

उसले १० मे मा हुने एलिमिनेटर खेल विजेतासँग विशाखापटनममा हुने दोस्रो क्वालिफायर खेल्नेछ। मुम्बईले आइपीएलको गत सिजनको च्याम्पियन चेन्नईलाई पराजित गरेको हो। यो जितसँगै मुम्बई पाँचौँ पटक फाइनलमा पुगेको हो। यसपहिले मुम्बई सन् २०१०, २०१३, २०१५ र २०१७ मा फाइनलमा पुगेको थियो। मुम्बई सन् २०१० मा आइपिएल च्याम्पियन बनेको थियो।

चेन्नईले टस जित्दै पहिले ब्याटिङ गरेर १३१ रनमात्र बनाएको थियो। जुन लक्ष्य मुम्बईले ९ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पूरा गरेको थियो। मुम्बईका जितका लागि सूर्यकुमारले नटआउट ७१ रन जोडे। त्यस्तै ईशान किसनले २८ र हार्दिक पण्ड्या १३ रनमा नटआउट रहे। बलिङतर्फ चेन्नईका इमरान ताहिरले लगातार २ विकेट लिए भने दीपक चाहर र हरभजन सिंहले समान १-१ विकेट लिएका थिए। महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले मुम्बई इन्डियन्सलाई मध्यम रनको लक्ष्य दिएको थियो। घरेलु मैदानमा टस जितेर ब्याटिङ रोजेको चेन्नईले पहिलो पावर प्लेमा कमजोर ब्याटिङ गर्दा मध्यम स्कोर तयार पारेको थियो।

उसले मुम्बईसामू १३२ रनको मात्र लक्ष्य प्रस्तुत गर्ने क्रममा अम्बाती रायडूले ४२, धोनीले ३७ र मुरली विजयले २६ रन बनाए। रायडू र धोनीले पाँचौँ विकेटका लागि ६६ रनको साझेदारी गरेपछि चेन्नईले ४ विकेटको क्षतिमा १३१ रन बनाउन सक्यो। मुम्बईका लागि दुई विकेट राहुल चाहरले लिए भने कुणाल पाड्या र जयन्त यादवले समान एक-एक विकेट लिएका थिए।

धोनी नेतृत्वको चेन्नईलाई दोस्रो ओभरमा नै झट्का लागेको थियो। चाहरले फाफ डुप्लेसिसलाई ६ रनमा आउट गरेका थिए। त्यस्तै यादवले सुरेश रैनालाई ५ रनमा पवेलियनको बाटो देखाए। सेन वाट्सन १० रन बनाएको अवस्थामा पाण्ड्याको शिकार भए।

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्