आइपिएल क्रिकेट: हैदरावादलाई हराउँदै दिल्ली क्वालिफायरमा प्रवेश 


 


काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको क्वालिफायर्समा प्रवेश गरेको छ । गएराति भएको एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई २ विकेट पराजित गर्दै दिल्ली क्वालिफायर्समा प्रवेश गरेको हो ।

पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनायो । उसका लागि मार्टिन गुप्टिलले ३६ तथा मनिश पाण्डेले ३० रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २८ र विजय शंकरले २५ रन जोडे । यस्तै मोहम्मद नावीले २० रन बनाए । दिल्लीका लागि बलिङमा किमो पउलले ३ तथा इसान्त शर्माले दुई विकेट लिए ।

नेपाली बलर सन्दिप लामिछानेलाई भने दिल्लीले मैदान उतारेन । १६३ रनको चुनौति लिएर जवाफमा उत्रिएको दिल्लीले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। बलियो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो। तर शिखर धवन आउट हुँदा ६६ रन बनाएको दिल्लीले त्यसपछि अरु ४७ रन जोड्दा थप चार विकेट गुमायो।

हैदराबादका लागि रासिद खानले एकै ओभरमा २ विकेटसम्म लिए । दिल्लीका लागि पृथ्वी शाँले ५६ रन बनाए भने रिशव पन्तले २१ बलमा ४९ रन जोडे । शिखर धवनले १७ रनको योगदान गरे । अब दिल्लीले फाइनल प्रवेशका लागि भोलि चेन्नेईसँग खेल्नेछ ।

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्