चेन्नईलाई १ रनले हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि


 


एजेन्सी । इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि उचालेको छ ।

चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । ओपनर क्वीन्टन डि ककले २९ रन बनाए भने इशान किसनले २३ रन, हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले १५–१५ रन बनाए ।

बलिङतर्फ दिपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २–२ विकेट लिए । १५० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिए । उनले ५९ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए । चेन्नईका लागि फाफ डु प्लेसिसले २६ रन बनाए भने ड्वाइन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लसिथ मलिंगा र राहुल चहरले एक-एक विकेट लिए । चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

अन्तिम ओभरको रोमाञ्चकता

चेन्नईका लागि शेन वाटसनले विस्फोटक ब्याटिङ गर्दै ८० रन बनाए पनि उपाधि जिताउन भने सकेनन् । वाटसन आउट भएपछि चेन्नईलाई जितका लागि ४ रनको आवश्यकता थियो । अन्तिम दुई बलमा चेन्नईले केवल दुई रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा जितका लागि चेन्नईलाई नौ रन आवश्यक थियो । यस ओभरको पहिलो तीन बलमा मलिंगाले चार रन दिए । चौथो बलमा वाटसन आउट भए । पाचौँ बलमा शार्दुल ठाकुरले दुई रन बनाए ।

आईपीएल २०१९ को अन्तिम बलमा दुई रन बनाएर चेन्नईलाई उपाधि जिताउने सपना देखेका शार्दुल ठाकुर मलिंगाको बलमा एलबीडब्ल्यू आउट भए । अघिल्ला ३ ओभरमा ४२ रन खर्चेका मलिंगाले अन्तिम ओभरमा महत्वपूर्ण विकेट लिँदै मुम्बईलाई चौथो पटक उपाधि जिताउन सफल भए ।

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्