मिडिया काउन्सिल विधेयकको बिरुद्ध पूर्वी मोरङका पत्रकार पनि आन्दोलित


 


उर्लाबारी, जेठ १

संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रावधान प्रति विरोध जनाउँदै पूर्वी मोरङका पत्रकार पनि आन्दोलित बनेका छन् ।

मन्त्री परिषद्बाट पारित भई वैशाख २६ गते संसदमा विधेयक दर्ता भएको थियो । प्रेस स्वतन्त्रतालाई संकुचित बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा पूर्वी मोरङका पत्रकारले पनि साथ दिएका हुन् । विधेयकको प्रावधान प्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलन अन्तर्गत आज हातमा कालो पट्टी बाँधेर पत्रकारहरु कार्यक्षेत्रमा खटिएका छन् । पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर सरकारको कदमको विरोध गरेका हुन् । पथरीशनिश्चरेस्थित पत्रकार महासंघको सम्पर्क कार्यालयमा पत्रकारहरु भेला भएर अन्र्तरक्रियात्मक कार्यक्रम गर्दै हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् ।

पत्रकार महासंघका मोरङ सहसचिव सन्तोष राईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय प्रतिनिधि अर्जुन जम्नेली राई, प्रेस चौतारीका मोरङ उपाध्यक्ष केदार चौहान, प्रेस युनियनका मोरङ उपाध्यक्ष हरि कोईराला, प्रेस सेन्टरका प्रदेश कोषाध्यक्ष मोहन भट्टराईले मन्तव्य राख्नुहुँदै आन्दोलनमा एकजुट भएर लाग्न सबै पत्रकारहरुलाई आह्वान गर्नुभएको थियो । महासंघका मोरङ कार्यसमिति सदस्य सुमन घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा पूर्वी मोरङमा रहेका दुई दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्