संसदमा दर्ता भएका ३ विधेयकमा कांग्रेसको आपत्ति


 


काठमाडौं । नेपाली कांग्रेसले संसदमा दर्ता भएका तीन विधेयकमा आपत्ति जनाएको छ । कांग्रेसले नेपालको संविधानको प्रावधान र व्यवस्था तथा भावनाको प्रतिकूल हुने गरी मन्त्रिपरिषदले निर्णय गरी संघीय संसदमा दर्ता गरेका तीनवटा विधेयकप्रति आपत्ति जनाउँदै ती विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’, ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कांग्रेसले कमजोरी रहेको औंल्याएको हो ।

‘संविधानको पालना र रक्षा गर्ने मूल दायित्व सरकारको हो । तर, वर्तमान सरकारले संविधानको व्यवस्था र भावनको प्रतिकूल हुनेगरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गराएको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । ‘मिडिया काउन्सिल सम्बन्धी विधेयकले संविधानको प्रावधान र भावनालाई ठेस पुर्‍याउने र प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने आशय बोकेको छ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले विधेयकहरू फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्न कांग्रेस तयार रहेको बताए । ‘हाम्रो सुझाव अनुसार ती विधेयकहरु सरकारले फिर्ता लियो भने ठिकै होला नत्र जबरजस्ती विधेयक सदनमा पेश गर्न खोज्यो भने सदनभित्र र बाहिर विधेयकविरूद्ध कांग्रेस चुप लागेर बस्दैन’ बैठकपछि खाणले प्रतिकृया दिए ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्