प्रधानमन्त्री ओली आउँदा हवाईदेखी सडक सेवासम्म प्रभावित


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका कारण हवाई र सडक सेवा प्रभावित भएको छ। प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमण गरेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा प्रभावित भएको हो।

सो समयमा अन्य उडान बन्द भए। विमानस्थल कार्यालयका अनुसार प्रधानमन्त्री ओली बैंककबाट काठमाडौं आउने क्रममा उनी चढेको जहाज अवतरणभन्दा १५ मिनेटअघि र अवतरणको १५ मिनेट पछिसम्म सबै उडान तथा अवतरण बन्द भएका हुन्। यता, ६ बजेर ५३ मिनेटदेखि आधा घण्टा उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

आधा दर्जन उडान तथा अवतरण प्रभावित भएका छन्। यसैगरी, सडक यातायात पनि प्रभावित भएको छ। प्रधानमन्त्रीको सवारीका कारण एयरपोर्ट, सुचना विभाग, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, ल्होत्से चोक, नक्साल भगवती, छातेगणेश, भाटभटेनी र बालुवाटार हुँदै चल्ने सवारी साधनहरू दुईतर्फी रूपमा प्रभावित भएका हुन्। १० देखि १५ मिनेट यातायात प्रभावित भएको महानगरिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्