जवजको रक्षार्थ देशभरका कार्यकर्ताबीच पुग्ने इश्वर पोखरेलको घोषणा


 


काठमाडौं,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले जननेता मदनकुमार भण्डारीको नेतृत्वमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जवज) को रक्षार्थ कार्यकर्ताबीच जाने घोषणा गर्नुभएको छ । गत जेठ १ गते युवा संघ नेपालले आयोजना गरेको स्थापना दिवसको अवसरमा नेकपाको सिद्धान्त जवज नै हुनुपर्ने भन्दै मैदानमा उत्रनु भएका नेता पोखरेलले अव पार्टीमा जवज स्थापित गर्न देशभरका कार्यकर्ताबीच जाने घोषणा गर्नुभएको हो ।

युवा संघको कार्यक्रममा नेता पोखरेलले जनताको बहुदलीय जनवादको बिकल्प नरहेको भन्दै बैचारिक प्रष्टताबिना कम्युनिस्ट पार्टी अघि बढनै नसक्ने ठोकुवा गर्नुभएको थियो । ‘जनताको बहुदलीय जनवादको विचारचाहिँ मलाई जहिलेसम्म सही लाग्छ, म एक्लै भए पनि दृढतापूर्वक उभिन्छु । देशव्यापीरुपमा पार्टीका कार्यकर्ताले यो विचारको सारलाई बुझ्नुहुन्छ । म ती विचारलाई कार्यकर्ताको बीचमा लिएर जान्छु,’ अनलाइनखवरलाई अन्तर्वार्ता दिँदै नेता पोखरेलले भन्नुभएको छ ।

नेता पोखरेलले बिचार मिल्नेसँग सहकार्य हुने भन्दै आफू कुनै पनि नेतालाई धुरी मानेर चल्ने मानिस नभएको घोषणा पनि गर्नुभएको छ । ‘अब मेरो पालो यहाँ हो भनेर हिसाब–किताब गरेर चल्ने मान्छे म होइन । मेरो ब्रह्मले जे सही देख्छ, त्यो म गर्छु । त्यो विषयमा अहिले बेलै आएको छैन । म पार्टीमा हिसाब–किताब गरेर चल्ने मान्छे होइन, यसमा प्रष्ट हुनुस,’ अन्तर्वार्तामा नेता पोखरेलले भन्नुभएको छ ।

नेता पोखरेलले ब्यक्ति भन्दा बिचार समातेर हिडदा मात्रै गन्तब्यमा पुगिने बताउनु भयो । ‘म व्यक्तिलाई समाएर हिँड्ने भन्दा पनि विचार समातेर हिँड्ने हो । जो–जो त्यो विचारमा सहमत हुनुहुन्छ, त्यसमा एक ठाउँ हुने हो । म मेरो स्पष्ट मान्यतासहित देशभरका कार्यकर्ताबीच जान्छु । तर, यहि पद चाहिन्छ भनेर हिसाब किताब गरेर हिँड्दिनँ । मैले त्यस हिसाब–किताबबाट बोलेकै छैन,’ पोखरेलले भन्नुभयो ।

जनताको बहुदलीय जनवादको विचारचाहिँ मलाई जहिलेसम्म सही लाग्छ, म एक्लै भए पनि दृढतापूर्वक उभिन्छु । देशव्यापीरुपमा पार्टीका कार्यकर्ताले यो विचारको सारलाई बुझ्नुहुन्छ । म ती विचारलाई कार्यकर्ताको बीचमा लिएर जान्छु

नेता पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको रक्षार्थ उभिनु भने नेकपाका सवैको कर्तब्य भएको बताउनु भयो । ‘केपी ओली पार्टीको अध्यक्ष हो । प्रक्रियासंगत ढंगले बनेको प्रधानमन्त्री । उहाँका बारेमा सकारात्मक बोल्नु र प्रतिरक्षा गर्नु सबैको कर्तव्य हो । कमजोरी रहेछन भने प्रक्रियासंगत ढंगले ठाउँमा बोल्नुपर्छ । कमरेड पुष्पकमल दाहाल, प्रचण्डको हकमा पनि त्यही हो,’ पोखरेलले अन्तर्वार्तामा भन्नुभएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्