मुख्यमन्त्री राईले भने : अब नेपाली जनताका दुःखका दिन समाप्त हुन्छन्


 


ओखलढुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन् । रुम्जाटारबाट राजधानी फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन् ।

केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुनेमा जोड दिँदै राईले भने, ‘घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको सुविधा नागरिकको चाहनाबमोजिम हामी उपलब्ध गराउने अभियानमा छौँ । समय केही लाग्ला तर सबै प्रकारका गरीबी र बेरोजगारी हटाउने अभियानमा हाम्रो ध्यान केन्द्रित छ ।’

मुलुकको विकासका लागि नेपालीबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले मुलुक समृद्धिको यात्रामा अघि बढेकाले सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

तीन दिनको यहाँको बसाईंपछि राजधानी फर्केका मुख्यमन्त्री राईले यसअघि रुम्जाटार बौद्ध गुम्बाको उद्घाटन, रुम्जाटार स्मार्टसिटीको सम्भाव्यता अध्ययन, बेलायत रहेका नेपालीको सांस्कृतिक तथा सम्मानलगायत कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्