झापामा सुनचाँदी सफा गर्ने बहानामा ठगी


 


(झापा) के तपाई आधिकारिक सुनचाँदी पसल छाडेर ‘झोले पसल’सँग सुन तथा चाँदीको बहुमूल्य गरगहना सरसफाइ गराउँदै हुनुहुन्छ? हुनुहुन्छ भने बेलैमा होसिहारी अपनाउनु होला। किनभने, अहिले नेपालका सीमावर्ती बजारमा गरगहना सफा गर्ने बहानामा भारतीय झोले व्यापारीहरुकाे बिगबिगी बढ्न थालेको छ।

ती झोले व्यापारीहरु सीमावर्ती नेपाली क्षेत्रमा आएर घरघरमा सेवा दिने बहानामा अन्य सदस्य नभएको मौका छोपी महिलाहरुलाई ठगी गर्दै आएका छन्। तिनै झोले व्यापारीको फन्दामा भद्रपुरका एक महिला ठगिएको घटनाबाहिर आएको छ। घटना विवरणअनुसार भद्रपुर नगरपालिका-५ बसपार्ककी जूनु मेचेले भारतीय व्यक्तिबाट केही महिनाअघि सुनको गरगहना घरमै सफा गराएकी थिइन्। मेचेले एक तोला १३ आना भएको सुनको सिक्री घरदैलोमा घुम्ने भारतीय ती व्यक्तिसँग सफा गराएकी थिइन्।

त्यस बेला उनको आफू ठगीमा परेको पत्तो पाइनन्। जब उनले सुनको सिक्री राखेर कर्जा लिन भद्रपुरकै एक सुनचाँदी पसलमा पुगिन् त्यसबेला सिक्रीबाट सात आना सुन कम भएको थाहा पाइन्। एक तोला १३ आनाको सिक्री एक तोला ६ आनामा भएपछि उनी ती छक्क परिन्। त्यसपछि उनले स्थानीयको सहयोगमा सुन सफा गराउने ती भारतीय झोले व्यक्तिको खोजीमा लागि परिन्। उनीहरूलाई खोज्ने क्रममा बुधवार बिहान भद्रपुरको मेची पुलबाट स्थानीयकै सहयोगमा चार जना झोले व्यापारीलाई पक्राउ गरी पीडित महिलाले नै वडा प्रहरी कार्यालय भद्रपुरमा लगेर बुझाएका थिए।

सुन सफा गर्ने सामग्रीसहित पक्राउ परेका बिहार, भागलपुर नौगछिया बस्ने ४५ वर्षीय हरिस् साह, कटिहारका ३९ वर्षीय धर्मेन्द्र साह, भागलपुर बरारीका ३८ वर्षीय रोकश साह र कटिहार अयोहमागञ्ज बजार बस्ने ३७ वर्षीय हिरालाल साह रहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। दिनभर थुनामा राखेर अनुसन्धान गरेपछि उनीहरूले सुन ठगी नगरेको स्वीकारे पनि पीडित महिला मेचेलाई आठ हजार भारतीय रुपैयाँ दिने र आइन्दा नेपाल नआउने सर्तमा बुधवार साँझ छाडिदिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्